कब्जियतबाट छुट्कारा पाउन अपनाउनुहोस् यस्ता उपचार बिधि

रिता घिसिंग

एजेन्सी : कब्जियत पाचन प्रक्रियामा गडबडीका कारण हुने एक रोग हो । मल निष्कासनको स्वभाविक आवृतिमा विलम्ब हुनु, नियमित रूपले मल त्याग गर्न नसकी बल प्रयोग गर्नुपर्ने अवस्था आउनु वा दैनिक एकपटक पनि कोमल दिसा गर्न नसकेको अवस्थालाई कब्जियत भनिन्छ।

कहिलेकाहीँ कब्जियत हुनु असामान्य होइन । तर, नियमित रुपमा महिनौंसम्म कब्जियत हुन थाल्यो भने यसले अरु अनेकौं समस्या निम्त्याउँछ । लामो समयदेखि भइरहेको कब्जियतको उपचारका लागि औषधि दिनुअघि चिकित्सकले हामीलाई आफ्नो खानपान र जीवनशैलीमा केही परिवर्तन गर्न सुझाउनेछन् । यस्ता सुझावअनुसार खानपानमा परिवर्तन गर्दा कब्जियतको समस्या घट्छ।

धेरै रेशायुक्त खानेकुरा खाने
आफ्नो भोजनमा सागसब्जी, फलफूल र होल ग्रेनजस्ता रेशायुक्त खानेकुरा समावेश गर्नुपर्छ । भोजनमा सागसब्जी र फलफूलको मात्रा बढी हुनुपर्छ । रेशा (फाइबर)ले कब्जियत हुन दिँदैन र पेट सफा रहन्छ । तर दुधजन्य पदार्थ, मासु र तयारी (चाउचाउ र यस्तै प्याकेटका) खानेकुरा कब्जियत नहटुन्जेल भरसक नखाने र खाए पनि थोरै मात्र खाने । किनभने यी खानेकुरा रेशायुक्त हुँदैनन्।

पानी धेरै पिउने
हाम्रो पाचन प्रणालीले धेरै कुरा शरीरबाट निष्काशन गर्नुपर्ने हुन्छ । त्यसैले पानी धेरै पिउने, पानीले पाचन प्रणालीलाई निष्काशन गर्नुपर्ने विकार वा फोहर बाहिर निकाल्न सघाउँछ भने कतिपय अनावश्यक र बढी खनिज तथा भिटामिन निष्काशनमा पनि सघाउँछ ।

बिहान शौचालय जानु केही बेरअघि एक गिलास मनतातो पानीमा एक चिम्टी नुन हालेर पिउने र दुई मिनेट हलुका व्यायाम गर्ने । यसले पनि पेट सफा गर्न सघाउँछ।

व्यायाम
शारीरिक व्यायामले पाचन प्रणालीका मांसपेशीलाई सशक्त बनाउँछ र राम्रोसँग काम गर्न सघाउँछ । अर्थात ठोस भोजनलाई सहज रुपमा पाचन प्रणालीले पचाउँदै अगाडि पठाउँछ । त्यसैले सकेसम्म दैनिक रुपमा नै केही न केही व्यायाम गर्नाले कब्जियत घटाउन मद्दत पुग्छ।

नित्यकार्यका लागि बाथरुम जाने
कब्जियत छ भनेर शौचालय जान बन्द नगर्ने । जति बेला दिसा लागेजस्तो हुन्छ वा नलागे पनि सधैं शौच जाने समयमा शौचालय जाने । साथै पेट सफा हुन जति समय लागे पनि समय दिने ।कहिलेकाहीँ यी नै उपायले पनि कब्जियत कम हुनसक्छ भने कतिपय अवस्थामा नहुन पनि सक्छ । त्यस्तो बेला कब्जियत हुने कारण पत्ता लगाउनु पर्ने हुनसक्छ ।

पेल्भिक मांसपेशीको व्यायाम
कहिलेकाहीँ मलमुत्र निष्काशन गर्ने मांसपेशीले राम्रोसँग काम गर्न नसक्दा पनि कब्जियत हुने गर्छ । यस्तोमा फिजियोथेरापिस्टले पेल्भिक मांसपेशीको व्यायाम गर्न सिकाउँछन् । व्यायामले ती मांसपेशीलाई फेरि सक्रिय पार्छन् र पेट सफा हुन थाल्छ । पेल्भिक मांसपेशीको व्यायामलाई ‘बायोफिडब्याक’ भनिन्छ । यसमा मेसिनको सहायताले व्यायाम गराइन्छ ।

यी सबै उपायले पनि कब्जियत हटेन भने चिकित्सकले दिसा पातलो बनाउनेलगायत विभिन्न औषधि प्रेस्क्राइब गर्छन् ।

प्रतिक्रिया