कम्युनिष्ट आन्दोलनलाई उचाइमा ल्याउन मदन¬आश्रितको महत्वपूर्ण भूमिका : गृहमन्त्री थापा

शर्मिला गुरुङ

काठमाडौँ, ३ जेठ  : गृहमन्त्री रामबहादुर थापाले नेपालमा कम्युनिष्ट आन्दोलनलाई अहिलेको उचाइमा ल्याउन नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको महत्वपूर्ण योगदान रहेको बताउन्भुएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थापना दिवस तथा मदन¬आश्रित स्मृति दिवसका अवसरमा मदन भण्डारी स्मृति वाटिका संरक्षण समितिद्वारा आज काठमाडौँको कोटेश्वरस्थित सुविधानगरमा आयोजित कार्यक्रममा उहाँले कम्युनिष्ट आन्दोलनमा उहाँहरुको वैचारिक योगदान अतुलनीय रहेको उल्लेख गर्नुभयो ।

गृहमन्त्री थापाले कम्युनिष्ट आन्दोलनका शत्रुहरुले उहाँहरुको सफलता रोक्न षड्यन्त्र गरेको आरोप लगाउँदै उनीहरुको षड्यन्त्र ठीक उल्टो भएको र उहाँहरुको बलिदानले कम्युनिष्ट आन्दोलनमा असाधारण उपलब्धि हासिल भएको बताउनुभयो ।

मदन भण्डारीकै योगदानका कारण अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भई कम्युनिष्टहरुको नेतृत्वमा स्थिर सरकार निर्माण भएको बताउँदै उहाँले नागरिकका आवश्यकता पूरा गर्न वर्तमान सरकार लागिपरेको धारणा व्यक्त गर्नुभयो । आज मदन आश्रितको सम्झनामा देशका विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम गरिएको छ । रासस

प्रतिक्रिया