कस्तो अचम्म ! जुत्ताबाटै विद्युत उत्पादन !

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। कुनै काम विशेषले हिँड्दा वा बिहान मर्निङ वाकमा निस्कँदा हाम्रो चाहिने भन्दा बढी मात्रामा अझ भनौ प्रशस्त शक्ति खर्च भैरहेको हुन्छ । त्यही शक्तिलाई स्टोर गर्न सकियो भने विद्युत निकाल्न सकिने एक खोजअनुसन्धानले निचोड निकालेको छ ।

स्वीडेनको इन्टरनेसनल एसोसिएसन अफ एडभान्स मेटरियल संस्थानका प्रोफेसर अजितांशु वेद रत्नमले हाल यस सम्बन्धी पिजो इलेक्ट्रिकल मेटरियलमा अनुसन्धान गरिरहेका छन् ।

रत्नमका अनुसार पैदल हिँड्दा पैतलाको दबाबबाट मेकानिकल इनपुट मिल्छ । यस्तो घर्षण वा दबाब सँगै इनपुट बढ्छ र इलेक्ट्रिकल सिग्नल पैदा हुन्छ । उक्त सिग्नललाई पिजो मेटरियलको सहयोगले स्टोर गर्न सकिन्छ । यसका लागि नानो टेक्नोलोजीमा आधारित सर्किट तयार पारिएको छ, जसमा जडान गरिएको पिजो मेटरियलले मेकानिकल इनपुटलाई विद्युतमा परिवर्तन गर्छ ।

प्रोजेक्टको पहिलो चरणमा उक्त पिजो मेटरियललाई जुत्तामा फिट गरिनेछ । यसमा पैदा भएको विद्युत्को सहयोगले मोबाइल चार्ज गर्न वा यस्तै साना कार्य गर्न सकिनेछ । भविष्यमा विभिन्न स्थानका वाकिङ जोनका साथै सडक किनारामा समेत यस्ता उपकरण राखेर विद्युत् उत्पादन गर्ने योजना भएको बताइएको छ ।

प्रतिक्रिया