काठमाडौँमा पनि जितिया पर्व मनाइने

admin

काठमाडौँ, १५ असोज : आदिवासी थारू समुदायका महिलाले काठमाडौँमा पनि जितिया पर्व मनाउने भएका छन् । थारू महिला सभा काठमाडौँ उपत्यका समितिले मङ्गलबार महोत्सवकै रुपमा कार्यक्रम गरी जितिया पर्व मनाउन लागेको हो । आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष तारा चौधरीले नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा मङ्गलबार ‘थारू राष्ट्रिय जितिया महोत्सव’ आयोजना गरिएको बताउनुभयो । यस्तै काठमाडौँको बानेश्वर र राष्ट्रिय नाचघरमा समेत जितिया विशेष कार्यक्रम आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

आजदेखि १७ गते तीन दिनसम्म उक्त पर्व मनाइनेछ । मुख्यतः नवलपरासी पूर्वको तराईका जिल्लामा पर्व मनाउने गरिएको भए पनि पछिल्ला वर्षमा काठमाडौँमा समेत मनाउन थालिएको छ । हिन्दू नारीले तीजमा जस्तै थारू महिलाले पनि प्रत्येक वर्ष असोज कृष्ण पक्ष सप्तमीदेखि नवमीसम्म जितिया मनाउँछन् । परिवारको सुख, शान्ति र दीर्घायुको कामना गर्दै आपसी प्रेम साटासाट गरेर जितिया मनाइन्छ ।

आज राति दर खाने अर्थात् लाहा खाने, अष्टमीका दिन मङ्गलबार उपवास बसी जितमहानको कथा सुन्ने, गाउँका महिला जम्मा भएर मौलिक नाच झमटा प्रदर्शन गर्ने गरिन्छ । नवमीमा जितमहान बाबा र घरको कुलदेवताको पूजाआजा गरी जितिया समाप्त हुने थारू विद्यार्थी सभाका केन्द्रीय सहसंयोजक प्रेमा चौधरीले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै थारू युवा सभाका केन्द्रीय अध्यक्ष कानून चौधरीले तराईका जिल्लामा मनाइने जितिया पर्व थारू समुदायको मौलिक संस्कृति भएकाले यसको जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो । थारू कल्याणकारिणी सभाका केन्द्रीय कार्यवाहक अध्यक्ष कनुलाल चौधरीले संस्कृतिको संरक्षणका लागि नै काठमाडौँमा पनि जितिया पर्व मनाउन थालिएको उल्लेख गर्नुभयो । सो क्रममा थारू अगुवा डम्बरप्रसाद चौधरीले जितिया पर्वको महत्वका बारेमा जानकारी गराउनुभएको थियो ।

जितियामा निराहार व्रत बसेका महिलाले जलाशयमा नुहाएर माटोको प्रतिमामा पूजा गर्दछन् । परिवारको स्वास्थ्य र असल पतिको कामनाका साथ गीत गाउँदै मीठो मसिनो खाएर यो चाड मनाउने परम्परा छ ।
-रासस

प्रतिक्रिया