काबुल कारागारनजिक आत्मघाती आक्रमण, सात जनाको मृत्यु

admin

कार्तिक १४, काबुल : अफगानिस्तानको राजधानी काबुलस्थित सबैभन्दा ठूलो कारागारमा कार्यरत कर्मचारी बोकेको बसमा लक्षित गरी आत्मघाती आक्रमण हुँदा सात जना मारिएको अधिकारीहरुले बताएका छन् ।

प्रहरी प्रवक्ता बासिर मुजाहिदले आक्रमणबाट अरु पाँच जना घाइते भएको बताउनुभयो । उक्त बसमा काबुलको पुल–ए–चार्खी कारागारमा कार्यरत कर्मचारी थिए ।

अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता नजिब दानिसले आक्रमणकारी सडकमा पैदल हिँडिरहेका व्यक्ति भएको बताउनुभयो । कर्मचारी बोकेको बस कारागारभित्र प्रवेश गर्नै लाग्दा ती व्यक्तिले आत्मघाती आक्रमण गरेका थिए ।

विस्फोटको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन, तर इस्लामिक स्टेटका लडाकूहरुले पछिल्ला महिनाहरुमा काबुलमा आत्मघाती आक्रमणमा तिब्रता दिएका छन् ।

काबुलको निर्वाचन आयोगमा आत्मघाती आक्रमण भएको एकदिन पछि नै यो आक्रमण भएको हो, जसबाट एक जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएका थिए ।

अफगानिस्तानको यसपटकको संसदीय चुनावमा व्यापक मात्रामा हिंसात्मक आक्रमणका घटना भएका छन् ।
अफगानिस्तानमा जारी हिंसा अन्त्यको उपाय खोजी गर्न यसै महिनाको शुरुमा नवनियुक्त अमेरिकी दूत जाल्मे खलिलजादले तालिबानका प्रतिनिधिहरुसँग कतारमा भेटवार्ता गर्नुभएको थियो ।

उक्त भेटवार्ताको दुई सातापछि नै पाकिस्तानी जेलमा आठ वर्षदेखि थुनामा रहेका तालिबानका एक जना उच्च कमान्डरलाई मुक्त गरिएको थियो ।

एक जना वरिष्ट तालिबानी नेताले खलिलजादसँगको भेटमा अब्दुल घानी बरादर र अरु धेरै नेताहरुलाई मुक्त गर्न आग्रह गरिएको बताउनुभयो । रासस

प्रतिक्रिया