काभ्रेमा चार हेलिकोप्टरको आकस्मिक अवतरण

कृष्ण रोकाया

बनेपा, ३१ भदौ : मौसमको खराबीका कारण काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित जोरपाटी र होक्सेमा आज बिहान चार हेलिकोप्टर आकस्मिकरूपमा अवतरण गरिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख जयराज सापकोटाका अनुसार आज बिहान करीब ७ः०० बजेतिर नगरपालिकाका वडा नं २ हर्से र वडा नं १ र २ को सिमाना जोरपाटीमा सिम्रिक एयरका दुई हेलिकप्टर र मनाङ एयरको एक, कैलाश एयरको एक हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ ।

प्रहरीका अनुसार लुक्ला विमानस्थलबाट काठमाडौँका लागि उडेका हेलिकोप्टर मौसम खराब भएपछि आकस्मिक अवतरण गरिएको प्रहरीले जनाएको छ । वडा नं २ का वडाध्यक्ष हरि खतिवडाका अनुसार वडा नं १ र २ आसपासमा अवरतण गरिएका चार हेलिकोप्टरमा १८ यात्रुमध्ये १६ विदेशी र दुई नेपाली रहेका छन् । उहाँका अनुसार यात्रुहरुसँग गरिएको कुराकानीका आधारमा लुक्लाबाट काठमाडौँका लागि उडेका हेलिकोप्टरमध्ये दुई काठमाडौँ अवतरण गरिसकेका र चार पाँचखालमा अवतरण गरिएको हो । अवतरण गरिएका हेलिकोप्टरका पर्यटक सबै सकुशल रहेका प्रहरीले जनाएको छ ।

जोरपाटी र हर्सेमा अवतरण गरिएका हेलिकोप्टरमध्ये दुईका चालक दल नेपाली र दुईका विदेशी रहेका वडाध्यक्ष खतिवडाले बताउनुभयो । हेलिकोप्टर धानखेतमा अवतरण गरिएको छ । अहिले पनि पानी परिरहेको र कुहिराले ढोकिएको अवस्थामा रहेको खतिवडाले बताउनुभयो । हिजोदेखि परिरहेको अविरल वर्षाका कारण अहिले पनि जिल्लाका विभिन्न स्थानमा बादलले ढाकेर आकाश धुम्म भइरहेको छ । रासस

प्रतिक्रिया