कारागार हातामा मन्दिर

शर्मिला गुरुङ

दुल्लु, ७ वैशाख  : जिल्ला कारागार दैलेख हातामा सरस्वतीको मन्दिर निर्माण गरिएको छ । गएको तिहारमा कारागारभित्रै देउसीभैलो खेलेर जम्मा भएको १२ हजार रुपैयामा मूर्ति ल्याएर पूजा गर्ने कैदीबन्दीको अवधारणा जानकारी पाएपछि जेलर जीतबहादुर खत्रीको प्रयासमा नारायण नगरपालिकाको रु एक लाख अनुदानमा मन्दिर निर्माण गरिएकोे हो ।

मन्दिर निर्माणमा अरू शुभेच्छुकको सहयोग र कैदीबन्दीको श्रमदानसमेत करीब ११ लाखको लागतमा सरस्वती मन्दिर र खेलमैदानको प्रबन्ध भएको कारागारका आन्तरिक प्रशासन चौकीदार कृष्ण खत्रीले जानकारी दिनुभयो । कारागार हातामा नवनिर्मित सरस्वती मन्दिरको शुक्रबार उद्घाटन गरिएको छ । सो अवसरमा सांसद पार्वती विशुन्केले दैलेख कारागारका कैदीबन्दीलाई जेलजीवन रचनात्मक काममा उपयोग गर्न आग्रह गर्नुभएको छ ।

कार्यक्रममा दैलेखका प्रजिअ लक्ष्मीप्रसाद बाँस्कोटाले कैदीबन्दीलाई असल चालचलनका आधारमा कैदी मिनाह हुने कानूनी व्यवस्था भएकाले आफूलाई समयअनुसार परिस्कृत गर्न सुझाव दिनुभयो । नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल, ठाँटीकाँध गाउँपालिकाका उपाध्यक्ष सुस्मिता सिंह, भैरवी गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी विष्टले दैलेख कारागारमा कैदीबन्दीले योग व्यायाम, धार्मिक अनुष्ठान र सीप सिक्न ध्यान दिएकाले आफूहरु सहयोग गर्न उत्सुक भएको बताउनुभयो ।

कारागारका आन्तरिक प्रशासन चौकीदार कृष्ण खत्री, मानबहादुर नेपाली, पुस्तकालयका उपेन्द्र शाहीले कारागारमा जेलजीवन बिताइरहेका कैदीबन्दीलाई आयमूलक सीप विकास तालीम, तनाव कम गराउन मनोविमर्श सेवा र कानूनी सहायता कक्षको आवश्यकता औँल्याउनुभएको थियो । रासस

प्रतिक्रिया