किन महिनावारी हुँदा मन्दिर र भान्सामा प्रतिबन्ध लगाइन्छ ? जान्नुहोस परम्परागत मान्यता पछाडि लुकेका वैज्ञानिक रहस्य

रिता घिसिंग

एजेन्सी : नेपाली समाजका धेरै परम्परागत मान्यतामा कतिपय मान्यता आजपनि हाम्रो समाजमा उत्तिकै कायम छ । कतिपय त हामीले नबुझेरै अनुसरण गरिरहेका छौँ । त्यसैले यी प्रथालाई कतिपयले रुढिवादी परम्परा मात्र मान्ने गरेका छन् । वास्तवमा यी मान्यता साँच्चै रुढिवादी मात्र छन् या यिनीहरूमा केही वैज्ञानिकता भेटिन्छ । केही प्रचलित परम्परागत मान्यताबारे यस्ता छन् वैज्ञानिक रहस्य ।

साँझ परिसकेपछि घरमा कुचो लगाउनु
साँझ परिसकेपछि घरमा कुचो लगाउनु अर्थात बढार्नुलाई हाम्रो समाजमा अशुभ मानिन्छ । कसिंगरसँगै लक्ष्मी बाहिर निस्कने वा ऋण लाग्ने विश्वासका कारण साँझमा कुचो लगाउन निषेध गरिएको हो ।

वैज्ञानिकता : पहिला पहिला घरमा बिजुली बत्ती नहुने हुँदा सानो टुकी बालिन्थ्यो । फलस्वरूप कम उज्यालो हुने अवस्थामा कुचो लगाउँदा आवश्यक सामानसमेत बाहिर जाने हुन्थ्यो । यसकारण साँझमा बढार्न निषेध गरियो । पछि बिस्तारै यसैलाई मान्यताका रूपमा लिन थालियो ।

घाटबाट फर्केपछि नुहाउनु
मलामी गएर घाटबाट फर्किएपछि अनिवार्य रूपमा नुहाउने चलन छ । शवयात्रामा समावेश भइसकेपछि ननुहाए अशुभ हुन्छ भन्ने गरिन्छ ।
वैज्ञानिकता : लासमा अत्यधिक मात्रामा ब्याक्टेरिया हुन्छन् । ती ब्याक्टेरियाको सम्पर्कमा आउँदा बिरामी हुने सम्भावना बढी हुन्छ । नुहाएमा ती पखालिन्छन् अनि हाम्रो शरीरलाई असर गर्न पाउँदैन ।

महिनावारी हुँदा मन्दिर र भान्सामा प्रतिबन्ध लगाउनु
महिनावारी भएका महिलालाई मन्दिर र भान्सामा प्रवेश गर्न बन्देज लगाइन्छ । अझ छुवाछुत नै गरिन्छ । कतिपय ठाउँमा त अलग्गै निवासमा राखिन्छ । छोएमा फोहोरी र अशुभ मानिन्छ । कुलदेवता रिसाउँछन् भन्ने मान्यता छ ।

वैज्ञानिकता : महिनावारी हुँदा महिला शारीरिक रूपमा कमजोर हुन्छन् । यो वेला पेट र कम्मर दुख्ने गर्छ र उनीहरूमा काम गर्ने ऊर्जा हुँदैन । साथै, यो अवस्थामा यदि सरसफाइको कमी भएमा ब्याक्टेरिया फैलने सम्भावना रहन्छ । यसले पूरै परिवारलाई क्षति पुर्याउन सक्छ ।

यात्रामा निस्किनुअघि दही खानु
घरबाट बाहिर निस्कँदा आफ्नो परिवारका सदस्यलाई दही खुवाइन्छ । उसलाई परदेशमा भाग्यले साथ देओस् भन्ने मान्यताअनुसार यसो गरिएको हो । दही खुवाउनुलाई यात्राको शुभ संकेत पनि मानिन्छ ।

वैज्ञानिकता : पहिलेको जमानामा यायायातका साधन हुँदैनथे । यसर्थ, हिँडेर एक ठाउँबाट अर्को ठाउँमा जानुपथ्र्यो । दही वा दहीमा चिनी मिसाएर खाँदा शरीरमा ताजापन र चिसो महसुस हुन्छ । साथै, ग्लुकोजको मात्रा बढ्ने र शरीरमा ऊर्जा थप्ने काम गर्छ । अनि, यात्रा सहज बनाउन मद्दत पुग्छ ।&

ढोकामा कागती र खुर्सानी झुन्ड्याउनु
बाहिरी कुदृष्टिबाट घर परिवारलाई बचाउन भन्दै ढोकामा कागती र खुर्सानीको माला बनाई झुन्ड्याउने गरिन्छ ।
वैज्ञानिकता : कागती र खुर्सानी साइट्रिक एसिडको राम्रो स्रोत हो । तसर्थ, यिनले बाहिरी ब्याक्टेरियालाई नष्ट गर्छन् । यसरी परिवारको स्वास्थ्य राम्रो राख्न मद्दत पुग्छ ।

प्रतिक्रिया