कुइन्सल्याण्ड एनआरएनए नेतृत्वमा ‘बनाना किङ्ग’ धिरेन्द्र राज थापाको उमेद्वारी

पूजा बानियाँ

पिएनपीखबर, पुजा बानियाँ। गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको कुइन्सल्याण्ड राज्य संयोजक पदमा धिरेन्द्र राज थापाले पहिलो पटक उमेद्वारी दिएका छन्। उनले नेकपा दलको प्यानलबाट चुनावमा उमेद्वारी दिएका हुन्।

केराको व्यवसायमा वर्षौ बिताएका धिरेन्द्र राज थापालाई ब्रिसबेनको नेपाली समुदाले बनाना किङ्गको उपनामले चिन्दछन्। ‘बनाना किङ्ग’ नाम सुन्दा सबैलाई अनौठो र आश्चर्यजनक लाग्ला। तर धिरेन्द्र भने यसै नामले अस्ट्रेलियामा कहलिएका छन्। ३० वर्ष अघि अष्ट्रेलियामा पहिलो पहिला टेकेका धिरेन्द्रले नेपालीलाई सहयोग गर्ने ध्ययले नै पहिलो पटक गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको कुइन्सल्याण्ड संयोजकमा उमेद्वार बनेका हुन्।

नेपालको विराटनगरमा जन्मिएका धिरेन्द्र नेपाली चलचित्र क्षेत्रको समेत सक्रिय पात्र हुन्। सुगम पोखेरेलको गीतमा मोडलिङ्ग गरेर शुरु गरेको यात्रा अहिले चलचित्र सम्म पुगेको छ। भर्सटाइल अभिनेता धिरेन्द्र अहिलेसम्म केरा व्यवसायमा रमाएर आफुलाई कुनै दलको कार्यकर्ता नभई स्वतन्त्र समाजसेवीको रुपमा चिनाउदै आएका छन्।

एनआरएनएको सदस्यता वितरणमा देखिएको समस्या हटाउने, नेपाली विद्यार्थीका लागि काम गर्ने, सामुदायिक भवन निमार्णमा सहयोग गर्ने मनसायले हालै उनले गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको कुइन्सल्याण्ड संयोजकमा उमेद्वारी दिएको उनी बताउछन्।

सार्वजनिक भएको चुनावी भिडियोमा उनले चुनाब जिते पश्चातको कार्ययोजना घोषणा गरेका छन्। धिरेन्द्रले यसअघि नेपलिज् एशोसियसन अफ कुइन्सल्याण्ड (एनएक्यु) मा रहेर समेत काम गरिसकेका छन्।

उनले आफ्नो फेसबुकमा यस्तो लेखेका छन् :
सम्पूर्ण अष्ट्रेलियावासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा म धिरेन्द्र राज थापा हार्दीक नमन गर्न चाहान्छु।

अष्ट्रेलिया आएको पनि यो साल ३० वर्ष पुगेछ। म अष्ट्रेलिया आउने पहिलो पुस्ता अन्तगर्त नै पर्ने रहेछु। ३० वर्षको यो यात्रामा अष्ट्रेलियामा अनगिन्ती नेपालीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्न सकेकोमा म आफुलाई धन्य ठान्दछु।

दुख परेको नेपालीलाई यहाको समाजमा घुलमिल हुन सहयोग गर्ने देखि लिएर जागिर खोज्ने तथा भइपरी आउदा साथ र सहयोग गर्न म सधै अग्र स्थानमा रहदै आएको छु।

अष्ट्रेलियामा आफ्नो काम र व्यवसाय गर्ने क्रममा म पनि विगत लामो समयदेखि केरा व्यवसायमा आवद्ध छु। किसानले उत्पादन गरेको केरालाई अष्ट्रेलियाको विभिन्न शहरमा पुर्याउने व्यवसायमा सफल हुदै गर्दा मैले आफुलाई बनाना किङको रुपमा समेत चिनाउन सफल भए। बनाना किङको मेरो पहिचान अष्ट्रेलियामा सुनौलो भविष्य खोज्ने नेपालीहरुका लागि एउटा मार्गदर्शन हुन सक्छ।

व्यवसाय र समाज सेवा फरक पाटो रहेछ । म व्यवसायमा रमाइ रहदा समेत मेरो रगतबाट समाजसेवा हट्न सकेन। व्यवसाय र जागिरका बिचमा समेत मैले समाजसेवालाई त्याग्न सकिन समाज सेवाप्रतिको उच्च आकांक्षा हुदा समेत समय दिन नसक्ने भयले म गैर आवासिय नेपाली संघमा लाग्न सकिन । त्यहि भयले समाजबाट पटक पटक नेतृत्वका लागि अनुरोध हुदा समेत मैले बाहिरै बसेर सहयोग गर्ने निधो गर्दै आएको थिए।

समय बलवान छ। समय परिवर्तनशिल छ। समयसंगै मेरो अवस्था पनि फेरिएछ।

म व्यवसायिक जिवनबाट समय निकाल्न सक्ने अवस्थामा आइपुगेको छु। अब म समाजका लागि निस्वार्थ केही गरौ भन्ने अवस्थामा छु। त्यहि अवस्थाका कारण ३ दशकको अष्ट्रेलिया बसाईमा पहिलो पटक गैर आवासिय नेपाली संघको पदाधिकारी हुन लाग्दैछु।

एक थुकी सुकी हजार थुकी नदी भने झै मैल ३ दशकसम्म गर्दैैै आएको व्यक्तिगत तवरको समाज सेवालाई सामुहिक र संस्थागत रुपमा लैजान मैले अन्तत गैर आवासिय नेपाली संघको पदाधिकारी बन्ने निर्णय लिएको हु।

मैले एनआरएनए क्विन्सल्याण्ड राज्यको संयोजक अर्थात एनआरएनएको उपाध्यक्ष पदका लागि आफ्नो उमेद्वारी घोषणा गरेको छु। गैर आवासिय नेपाली संघ सामुदायिक र समाजकै लागि निस्वार्थ सेवा गर्ने ठाउ भएकाले म अन्तिम सम्म पनि सहमतिबाटै नेतृत्व चयन हुनपर्छ भन्ने पक्षमा छु।
जसका लागि म अन्तिमसम्म पनि कसरत गरिरहनेछु।

यति भन्दै गर्दा मैले उमेद्वारी दिनुपर्ने कारण र भावि योजनासहित एउटा भिडियो तयार पारेको छु। आज तपाईहरुसंग मेरो एजेण्डासहितको यो छोटो भिडियो सार्वजनिक गर्न पाउदा असाध्यै खुसी लागिरहेको छ।

यदि तपाईलाई म गैर आवासिय नेपाली संघमा आउनुपर्छ जस्तो लाग्छ भने कृपया तपाईको एउटा भोट यसपाली मेरा लागि दिनुहोला। तपाईको भोट र विश्वासलाई म कहिल्यै पनि डगमगाउन दिने छैन। धन्यवाद।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू