झापाका कुखुरापालक किसान आन्दोलनमा

मनिषा थापा

बनियानी, ३ पुस : झापाका कुखुरापालक किसान आन्दोलित बनेका छन् । कुखुराको चल्ला र दानाको मूल्यमा अत्यधिक वृद्धि भएको तथा आफूहरूले उत्पादनको गरेको कुखुराको उचित मूल्य नपाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।

विभिन्न सरोकारवाला निकायलाई समस्या समाधानका लागि ध्यानाकर्षण गराए पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको नेपाल कुखुरापालक किसान सङ्घ झापाका अध्यक्ष राजन पौडेले बताउनुभयो ।

“पछिल्लो समय चल्ला र दानाको मूल्यमा अत्यधिक वृद्धि भएको छ”, उहाँले भन्नुभयो, “तर, किसानले उत्पादन गरेको कुखुराको मूल्य घट्दो छ ।” आन्दोलनस्वरूप किसानले समस्या समाधान नभएसम्म खोरमा खुकुराको चल्ला नहाल्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

नेपाल कुखुरापालक सङ्घ केन्द्रीय समितिले खोरमा कुखुराका चल्ला नराखिने निर्णय गरेकामा त्यसलाई लाई पुस १ गतेदेखि कार्यान्वयन गरिएको सङ्घका झापा सचिव डिल्ली उप्रेतीले बताउनुभयो ।

“पुस १ गतेदेखि जिल्लाभरका कुखुरापालक किसानले खोरमा चल्ला नहाल्ने निर्णय गरेका छौँ’, उहाँले भन्नुभयो, “किसानको समस्या सम्बोधन भएसम्म आन्दोलन जारी रहने छ ।”

केही समयअघि प्रतिबोरा (५० केजी) दानामा रू ५० वृद्धि गरिएको र त्यसलगत्तै रू ७५ ले पुनः वृद्धि गरिएको सचिव उप्रेतीले बताउनुभयो । गर्मी महीनामा चल्ला बचाउनै मुस्किल पर्ने र जाडोमा चल्ला खरीद गर्न नसकिने गरी मूल्य बढ्ने गरेको बताउँदै उहाँले भन्नुभयो, “यसबाट किसान मारमा परेका छन्, त्यसमा पनि एक दिने चल्ला ३५ ग्रामको हुनुपर्नेमा २५/३० ग्रामको मात्र हुन्छ ।”

किसानलाई जिउँदो कुखुरा उत्पादनमा प्रतिकेजी रू १६५ लाग्ने गरेको सङ्घका सदस्य रमेश भट्टराईले बताउनुभयो । “अहिले किसान प्रतिकेजी १६५/१७० रुपैयाँमा कुखुरा बेच्न बाध्य छन्”, उहाँले भन्नुभयो, “बजारमा २८०/३०० रुपैयाँ प्रतिकेजी मासु बिक्री भइरहेको छ ।”

“पैँतालीस दिन कटेपछि कुखुरा बेच्नुको विकल्प हुँदैन”, उहाँले भन्नुभयो, “किसानको बाध्यताको फाइदा बिचौलियाले उठाइरहेका छन् ।” अहिले किसानको खोरमा ५० देखि ९० दिनसम्मका ७ केजीसम्मका कुखुरा रहेको उहाँले बताउनुभयो ।

सीमावर्ती क्षेत्रका केही कुखुरापालक किसानले समेत भारतीय खुकुरा ल्याएर खोरमा हाल्ने र बेच्ने गरेको भट्टराईले बताउनुभयो । “सीमा क्षेत्रका केही कुखुरापालक किसानले भारतीय कुखुरा ल्याएर हाल्ने र बेच्ने गर्नुभएको छ”, उहाँले भन्नुभयो, “यस्ता कारणले पनि नेपाली कुखुरापालक मारमा परेका छन् ।”

झापाको सीमावर्ती क्षेत्रबाट भारतीय कुखुराको आयातका कारण नेपाली कुखुरापालक किसान थप मारमा परेका हुन् । झापाको कचनकवलस्थित बनियानी र मेचीनगरको बाहुनडाँगी क्षेत्रबाट प्रहरी र व्यापारीको मिलेमतोमा भारतीय कुखुरा भित्रिने गरेको सङ्घको दावी छ ।

सीमा क्षेत्रबाट भारतीय कुखुरा आयात भइरहेको भन्दै सङ्घले जिल्ला प्रहरी कार्यालय झापालाई ध्यानाकर्षणसमेत गराएको छ भने जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र समेत बुझाएको छ । आफ्नो समस्या समाधानका लागि पहल गरिदिन जिल्लाका चार स्थानीय तह शिवसताक्षी, बिर्तामोड, भद्रपुर र दमक नगरपालिकामा ज्ञापन पत्रसमेत बुझाइएको सदस्य भट्टराईले जानकारी दिनुभयो ।

कुखुरापालक सङ्घ झापामा ५५० किसान (सरकारी कार्यालयमा दर्ताका फर्म) आवद्ध छन् भने करीब २०० किसान असङ्गठित रूपमा रहेका छन् । त्यस्तै, देशभर करीब एक लाख ७५ हजार किसान रहेको सङ्घले जनाएको छ ।

कुखुरापालनका लागि झापामा मात्र किसानले वार्षिक चल्लामा रू १३ करोड २० लाख र दानामा १६ करोड ५० लाख खर्च गर्ने गरेको सङ्घले जनाएको छ । त्यस्तै, जिल्लामा वार्षिक रू ८५ करोड २५ लाख मूल्य बराबरको ५० लाख केजी जिउँदो कुखुरा उत्पादन हुने गरेको सङ्घले जनाएको छ । सन्तोष शर्मा, रासस

प्रतिक्रिया