कुखुरामा रानीखेत रोगको प्रकोप

शर्मिला गुरुङ

डोटी, २७ पुस : कुखुरामा देखिने ‘रानीखेत’ नामक रोगका कारण डोटीका एक कुखुरा व्यवसायीलाई लाखाँैको क्षति भएको छ ।

जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ पुन्नामा डिल्लीराज भट्टले सञ्चालन गर्दै आएको कुखुरा फार्ममा रहेका लेयर्स जातका ७०० कुखुरा रोगका कारण मरेका छन् । रु १२ लाख खर्च गरी सञ्चालन गर्दै आउनुभएका भट्टको पोल्टी फार्ममा कुखुरामा प्रकोप देखिएको हो ।

कुखुरा झोक्राउने, टाउको घुमाउने, मुखबाट फिँज फाल्नेजस्ता लक्षण देखिएको भट्टले जानकारी दिनुभयो । यस्तो लक्षण देखिएको करीब दुई घण्टाभित्रै कुखुरा मर्ने गरेका छन् ।

अण्डा उत्पादन गर्नका लागि पालन गरिएको कुखुराले तीन महीना पहिलेदेखि मात्र अण्डा दिन थालेको थियो । करीब १८ महीनासम्म अण्डा दिने कुखुरा मरेपछि भट्ट चिन्तित बनेका छन् । एउटा खोरमा रहेका एक हजार कुखुरामध्ये करीब ३०० कुखुरा मात्र बाँकी रहेको भट्टले बताउनुभयो ।

रोगको आक्रमण भएपछि कुनै उपचार सम्भव नभएको पशु चिकित्सकले बताएका छन् । पुन्ना क्षेत्रमा मात्र अन्य व्यवसायीले पनि कुखुरापालन गरी रहेकाले सावधानी अपनाउनका लागि पशु सेवा एकाइले सबैमा आग्रह गरेको छ । रासस

प्रतिक्रिया