कुखुरा व्यवसायले दियो खुशी

कृष्ण रोकाया

डोटी, २८ पुस : डोटीको केआइसिंह गाउँपालिका–६ भिताडी सलेनामा समता महिला समूहकी सदस्य देउसरी विकले ब्रोइलर कुखुरा व्यवसाय शुरु गर्नुभयो । १४ वर्षकै उमेरमा कामको खोजीमा भारत गएका उहाँका श्रीमानले पैसा कमाउन नसकेपछि घरमै बोलाएर समूहबाट रु एक लाख ऋण लिई कुखुरा व्यवसाय शुरु गरेपछि देउसरीको परिवारमा खुशीयाली छाएको छ ।

देउसरीले पहिलोपटक ३०० ब्रोइलर कुखुराका चल्ला ल्याई कुखुरापालन व्यवसाय शुरु गर्नुभएको थियो । केआइसिंह गाउँपालिकाको भूमिराजमाडौँमा मासुको खपत बढ्दै गएको र चल्ला ल्याएकोे ४५ दिनभित्रै कुखुरा फष्टाउने गरेको देउसरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “राम्रोसँग कुखुराको स्याहार गरेमा एकपटकमा ३० देखि ४० हजार बराबरको आम्दानी हुने गरेको छ, घरैमा मिहेनत गरे पैसा कमाउन भारत जानुपर्दैन ।” विगतमा श्रीमान् कामका लागि भारत गएका र कमाएको पैसा जाँड, रक्सीमा सक्ने र घर आउँदा रित्तै आउने गर्दा घर परिवार चलाउन निकै समस्या हुने गरेको दुःखका दिन सम्झिँदै देउसरी भन्नुहुन्छ, “पहिला श्रीमान् भारतमा, पैसा नपठाउने, सधैँ अर्काको कम गरेर खानुपर्ने अवस्था थियो ।” उहाँको परिवारमा श्रीमान् कर्ण विक, सासू, दुई छोरा, एक बुहारी र एक नातिनी गरी सातजना छन् । विगतमा सात जनाको परिवार आफू एक्लैले पाल्नु पर्दा निकै समस्या रहेको उहाँ बताउनुहुन्छ ।

आधा जिन्दगी भारतमै बिताएका देउसरीका श्रीमान् अहिले श्रीमतीको प्रयासमा घरमै बसी राम्रो आम्दानी गर्न सकेकामा खुशी छन् । “मैले लामो समयसम्म भारतमा काम गरेँ तर घरमा कुनै सहयोग पु¥याउन सकेको थिइन उहाँले भन्नुभयो”, “श्रीमतीको आग्रहमा कुखुरा व्यवसाय गर्न थालेपछि अहिले परिवारमा खुशी छाएको छ ।” देउसरीका श्रीमान् मात्रै होइन, भिताडी गाउँका अधिकांश दलित घरधुरीका पुरुष कामका लागि भारत जाने गर्दछन् ।

महिलाले मेलापातको काम र घरधन्दा चलाउने काम गर्दै आइरहेका छन् । श्रीमान्ले भारतबाट पठाएको रकमले नपुग्ने भएपछि उक्त गाउँका दलित अर्काको काम गरी घरखर्च चलाउने गर्दछन् । परम्परागत पेशागत कामको लोप हुँदै गएपछि उहाँहरुलाई घर चलाउन निकै समस्या हुन थालेपछि पुरुष कामका लागि भारत जान थालेको अर्का स्थानीयवासी कुलबहादुर कामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पुख्र्यौली पेशा लोप हुन थाल्यो, गाउँमा रोजगारी मिल्दैन अनि पैसा कमाउन भारत पस्ने प¥यो ।” एक्सन एड नेपालको सहयोगमा सञ्चालन भइरहेको स्थानीय अधिकार कार्यक्रम तथा महिला नेटवर्क परियोजनाअन्तर्गत गठित समता महिला समूहमा परियोजनाको सहयोगमा समता महिला समूहलगायत अन्य सातवटा समूहमा घुम्ती कोषबापत रु एक लाख सहयोग गरिएपछि सो गाउँका दलित परिवारलाई अहिले निकै राहत पुगेको सम विकास केन्द्र (इडिसी) डोटीका अध्यक्ष महेश टेलरले बताउनुभयो । रासस

प्रतिक्रिया