कुन आँखा फर्फराउनु शुभ, कुन अशुभ ?

मनिषा थापा

पुरुषको दाहिने र महिलाको देब्रे आँखा फर्फराउनुलाई शुभ मान्ने विश्वास रहँदै आएको छ । तर, ठीक विपरीत भयो भने अशुभ मानिन्छ । तर, विज्ञानले आँखा फर्फराउनुलाई स्वास्थ्य अवस्थासँग जोडेर हेर्ने गरेको छ ।

आँखा फर्फराएको छ भने आँखामा स्वास्थ्य समस्या भएको बुझ्नुपर्छ । सुक्खा हुने, विभिन्न इन्फेक्सन हुने, एलर्जी हुने, रातो हुने, सुन्निने तथा आँसु बढी आउने समस्या फर्फराउने संकेतसँग जोडिएको हुन्छ ।

आँखा फर्फराउने संकेतसँग मानसिक तनावको पाटो पनि जोडिएको हुन्छ । मानसिक तनाव धेरै लिने मानिसको आँखा धेरै फर्फराउँछ । कम मानसिक तनाव लिनेहरूमा तुलनात्मक रूपमा आँखा फर्फराउने समस्या कम हुन्छ ।

आँखामा कुनै प्रकारको चोट या दुखाइ छ भने पनि फर्फराउने समस्या देखिन्छ । आँखालाई बढी दबाब हुने गरी काम गर्दा पनि यस्तो समस्या निम्तिएको पाइन्छ । कहिलेकाहीँ आँखाको ढकनीभित्र परेला टाँसिएको अथवा आँखाभित्र परेला घुसेको छ भने पनि आँखा फर्फराउन सक्छ ।

आँखा फर्फराउनुलाई कुनै शुभ या अशुभ संकेतको रूपमा नलिएर रोगको प्रकृति भएको बुझ्नुपर्छ । लामो समय आँखा फर्फरायो भने चिकित्सककहाँ जानैपर्छ । फर्फराउने समस्याबाट मुक्त हुन एउटा इन्जेक्सन दिइन्छ । यो इन्जेक्सन लगाएपछि फर्फराउने समस्या अन्त्य हुन्छ ।

प्रतिक्रिया