कृषि थोक बजारबाट कृषक लाभान्वित हुने

कृष्ण रोकाया

विराटनगर, ३ पुस : कृषकको जीवनस्तर उकास्न मोरङको कटहरीमा निर्माण भएको कृषि थोक बजारले ठूलो मद्दत गर्ने भएको छ ।

कृषकले उत्पादन गरको फलफूल तथा तरकारीलाई व्यवस्थित गरी बजारसम्म पु¥याउन कृषि थोक बजारले सहयोगीको भूमिका निर्वाह गर्ने प्रदेश नं–१ का कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता वरिष्ठ कृषि विकास अधिकृत मनोज यादवले बताउनुभयो ।

कृषि तथा पशुपालनको क्षेत्रमा काम गर्दै आएको प्याक्टले २०६८ सालमा तत्कालीन कटहरी गाविससँग सम्झौता गरेको थियो । त्यही सम्झौताको आधारमा नेपाल सरकारले २०७४ साल पुसमा व्यावसायिक कृषि व्यापार आयोजनाको काम अगाडि बढाएअनुरुप स्थानीय जनप्रिय मावि कटहरीले चार कठ्ठा दुई धुर र कटहरी गाविसले १८ धुर उपलब्ध गराएको जग्गामा अहिले अत्याधुनिक कृषि थोक बजार निर्माण भएको हो ।

बजारमा तरकारी ४५ हजार मेट्रिकटन र फलफूल आठ हजार मेट्रिकटन अट्ने क्षमताको छ । विराटनगरको सिङ्घिया नदीसँग जोडिएको सो भवनबाट विगतमा कृषकले भोग्दै आएको समस्या समाधान हुने कृषि विकास निर्देशनालय विराटनगरका कृषि प्रसार अधिकृत प्रकाश डाँगीले बताउनुभयो ।

नेपाल सरकारले कृषि क्षेत्रमा लागेका कृषकको जीवनस्तर उकास्न तथा कृषकको उत्पादनलाई व्यवस्थित भण्डारण गर्न कामाडौँमा पुष्प र तरकारी थोक बजार, बुटवल र विराटनगरमा व्यावसायिक कृषि थोक बजार, जनकपुर र दमकमा पशु बजार खोल्ने निर्णय गरेपछि कृषि क्षेत्र र कृषकमा उत्साह पैदा भएको थियो ।

भूमि कन्सट्रक्सन प्रालिले ठेक्कामा लिई रु १७ करोडको लागतमा एउटा तरकारी थोक बजार र अर्को फलफूल थोक बजारसहित एक अत्याधुनिक भवन पनि निर्माण गरेको छ । भवनको लागि प्याक्टले रु १२ करोड र नेपाल सरकारले रु पाँच करोड खर्च व्यहोरेको कन्सट्रक्सनका प्रोप्राइटर अविनाश बोहराले जानकारी दिनुभयो ।

व्यावसायिक कृषि व्यापार आयोजना काठमाडौँका वरिष्ठ आयोजना अधिकृत दिनेशप्रसाद सापकोटाले सुनसरी, मोरङ, झापा र धनकुटाका कृषकलाई लाभान्वित गराउने उद्देश्यले बनाएको यो बजारबाट स्थानीय बजारमा तरकारी र फलफूल सजिलै उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो ।

बजारमा थोक बिक्रेताका लागि ४० वटा र खुद्रा बिक्रेताका लागि ३५ वटा स्टल बनाइएको छ । तरकारी कृषक बुनिलाल राजवंशीले तरकारी तथा फलफूल उत्पादन गर्ने कृषकका लागि बनाइदिएको यस्तो व्यवस्थित बजारबाट सबै कृषक लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया