आयुष केसीलाई रु एक लाखसहित सम्मान

admin

भक्तपुर, २८ जेठ: भारतीय टेलिभिजन जी टिभीको रियालिटी सो सारेगमपमा चौँथो हुन सफल कक्षा ८ मा अध्ययनरत् विद्यार्थी आयुष केसीलाई रु एक लाखसहित सम्मान गरिएको छ ।सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित मोर्डन स्कूलले आज आयोजना गरेको सम्मान कार्यक्रममा स्कूलका प्रमुख बाबुकाजी कसपाल, प्राचार्य अनिल कसपालले रु एक लाखसहित सम्मान गर्नुभयो ।

सारेगम लिटल च्याम्सको २०१९ को संस्करणमा भाग लिएका केसी र प्रितम आचार्य फाइनलमा पुगेका थिए भने आचार्य तेस्रो र केसीले चौँथो स्थानमा आउन सफल भएका थिए । मोर्डन स्कूलमा कक्षा ८ मा अध्ययनरत् गायक केसीले कार्यक्रममा नेपाली तथा हिन्दी गीत गाएका थिए भने उनले नृत्य गरेरसमेत आफ्नो क्षमता प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापाले नेपालबाट भारतको रियालिटी शोमा भाग लिएर केसी र आचार्यले देशको नाम उच्च राख्न सफल भएको भन्दै प्रशंसा गर्नुभएको थियो । त्यसअवसरमा जिल्ला शिक्षा एकाईका प्रमुख खेमनाथ पोखरेल, प्राचार्य कसपाल, सूनपा–४ का वडाअध्यक्ष उत्तम थापालगायतले नेपाली प्रतिभाको बारेमा चर्चा गर्दै राज्यले संरक्षण गर्नुपर्ने बताउनुभयो । रासस

प्रतिक्रिया