कोरियामा सुतेकै अवस्थामा एक नेपालीको मृत्यु

शर्मिला गुरुङ

काठमाडौँ, ५ मङ्सिर : दक्षिण कोरियामा आज एक नेपालीको मृत्यु भएको छ ।

फाइल फोटो

उदयपुर कटारीका २० वर्षीय दीपक कार्कीको सुतेकै अवस्थामा मृत्युभएको सियोलस्थित नेपाली दूतावासका श्रम काउन्सिलर डिल्लीराम बास्तोलाले जानकारी दिनुभयो । कोरियाको स्ट्रबेरी फर्ममा काम गर्दै आएका उनी मङ्गलबार राति खाना खाएर सुतेका थिए । उनी पाँच महिनाअघि मात्र भाषा परीक्षा पास गरी कोरिया गएका थिए ।

मृतक कार्कीको शव परीक्षणका लागि स्थानीय अस्पतालमा राखिएको छ । शव परीक्षण प्रतिवेदनपश्चात मात्र मृत्युको कारण खुल्ने काउन्सिलर बास्तोलाले जानकारी दिनुभयो ।

नेपाली युवाका लागि आकर्षक गन्तव्यका रुपमा रहेको दक्षिण कोरियामा विभिन्न कारणले मृत्यु हुनेको सङ्ख्या बढेको छ । गत महीनामात्र पाँचथर फिदिम नगरपालिकाका राजेश तुम्बापोको काम गर्दागर्दै मेसिनमा च्यापिएर मृत्यु भएको थियो ।

डिप्रेसनका कारण आत्महत्या, औद्योगिक तथा सडक दुर्घटना र सुतेकै अवस्थामा मृत्यु हुने नेपालीको सङ्ख्या डरलाग्दो रुपमा बढिरहेको उहाँले बताउनुभयो । सन् २००७ देखि हालसम्म १६० नेपालीको विभिन्न कारणबाट मृत्यु भइसकेको छ । रोजगारी अनुमति प्रणाली (इपिएस) मार्फत हाल कोरियामा करीब ३६ हजार नेपाली औद्योगिक तथा कृषि क्षेत्रमा काम गर्दै आएका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू