क्यान्सर पीडित गिरीलाई प्रवासबाट राहत सहयोग

शर्मिला गुरुङ

बागलुङ, २० वैशाख : घाँटीको क्यान्सरबाट पीडित कुश्मा नगरपालिका–३ का हरि गिरीको परिवारलाई पर्वत समाज कतारले राहत रकम प्रदान गरेको छ । समाजका सहकोषाध्यक्ष सोमबहादुर केसी, वडाध्यक्ष तेजप्रसाद पाध्यलगायतले बिहीबार संयुक्तरूपमा गिरीकी श्रीमती जुनालाई रु ९३ हजार ४०० प्रदान गर्नुभएको हो ।

चार महीनाअघि कतार पुग्नुभएका गिरीलाई दुई महीनापछि क्यान्सर देखिएको थियो । गिरीको अहिले कतारमै उपचार भइरहेको छ । घर धान्न विदेश जानुभएका गिरी उतै बिरामी परेपछि परिवार बिचल्लीमा छ । परिवारको पालनपोषण र बालबच्चाको पढाइमा सहयोग पुगोस् भनेर राहत प्रदान गरिएको समाजका सहकोषाध्यक्ष केसीले बताउनुभयो । समाजका केन्द्रीय सदस्य महेन्द्र चालिसेको अगुवाइमा कतारमा रहेका पर्वतेलीबाट राहत रकम जुटाइएको थियो ।

सो अवसरमा वडाध्यक्ष पाध्यले वडाको तर्फबाट रु १० हजार गिरी परिवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “समस्यामा परेको परिवारलाई राहत उपलब्ध गराएर समाजले प्रशंसनीय काम गरेको छ”, उहाँले भन्नुभयो ।

नेपालीका हरेक दुःखसुखमा साथ दिन समाज क्रियाशील रहेको समाजका संस्थापक एवं पूर्वअध्यक्ष प्रताप गिरीले बताउनुभयो । समाजले विपत् र समस्यामा परेका व्यक्ति र तिनका परिवारलाई सहयोग गर्दै आएको छ । क्यान्सरपीडित गिरीको उपचार खर्च भने कम्पनीले नै व्यहोर्दै आएको समाजका सदस्य सन्तोष क्षेत्रीले बताउनुभयो ।

मृतक परिवारलाई सहयोग

अल्पायुमै मृत्युवरण गर्न पुग्नुभएका काठेखोला गाउँपालिका–७ रेशका नारायण कुँवरको परिवारलाई आर्थिक सहायता प्रदान गरिएको छ । प्रवासमा सञ्चालित सहयोग अभियानबाट सङ्कलित रु तीन लाख ५९ हजार बिहीबार कुँवरकी पत्नी डोलिन्द्र कुँवरलाई हस्तान्तरण गरिएको हो ।

नेपाल रेडक्रम सोसाइटी बागलुङ शाखाका सभापति जब्बरबहादुर लामिछाने, वडाध्यक्ष प्रेम लामिछाने, नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषलगायतले संयुक्तरूपमा सहयोग हस्तान्तरण गर्नुभएको हो ।

रेश घर भई हाल हङकङमा रहनुभएमा सुवास लामिछाने र जापानमा रहनुहुने सुरज लामिछानेको पहलमा उक्त सहयोग रकम जुटेको थियो । कुँवरका बालबच्चाको पढाइ र पालनपोषणमा सहयोग पु¥याउन देश विदेशमा सहयोग अभियान चलाइएको थियो । कुँवरको निधनपछि श्रीमती र बालबच्चाको बिचल्ली हुने देखेपछि सहायता जुटाउनुपरेको अभियानका स्थानीय सहजकर्ता सुमन जिसीले बताउनुभयो । “सामाजिक सञ्जालबाट सहयोग अभियान थाल्यौँ”, उहाँले भन्नुभयो, “छोटो अवधिमै देशविदेशबाट राम्रो सहयोग जुट्यो ।”

सात वर्षसम्म वैदेशिक रोजगारीमा रही फर्कनुभएका कुँवर पछिल्लो समय भैरहवाको एक पार्टी प्यालेसमा कार्यरत हुनुहुन्थ्यो । ३१ वर्षीय कुँवरको गत माघ १२ गते राति अचानक निधन भएको थियो । परिवारको आर्थिक अवस्था कमजोर बन्दै गएपछि उहाँ पुनः विदेश जाने तयारीमा हुनुहुन्थ्यो । कुँवरका नौ वर्षीय छोरा आयुष र छ महीनाकी छोरी रक्षा छिन् । घरमा वृद्ध बुबाआमा हुनुहुन्छ । घर व्यवहार धान्नेदेखि बालबच्चाको शिक्षाको जिम्मा श्रीमती डोलिन्द्रमाथि आएको छ । परिवार र छोराछोरीको भविष्यको चिन्ताले उहाँ ग्रसित हुनुहुन्छ ।

समस्यामा परेको परिवारलाई राहत सहयोग गरेर युवाले प्रशंसनीय कार्य गरेको रेडक्रस बागलुङका सभापति लामिछानेले बताउनुभयो । “नेपालीका दुःखसुखमा प्रवासीले साथ दिँदै आएका छन्” उहाँले भन्नुभयो । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष शिरीषले देशविदेशमा रहेका नेपालीमा परोपकारको भावना जागृत हुँदै गएको बताउनुभयो । कुँवरको परिवारलाई विभिन्न सङ्घसंस्थाको तर्फबाट हालसम्म रु सात लाख सहयोग प्रदान गरिएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू