‘खेलकूद स्वस्थ जनशक्ति उत्पादन गर्ने क्षेत्र’ :सभामुख महरा

admin

काठमाडौँ, २८ पुस : सभामुख कृष्णबहादुर महराले खेलकूद देशको स्वस्थ र दक्ष जनशक्ति उत्पादन गर्ने महत्वपूर्ण क्षेत्र रहेको बताउनुभएको छ । न्यू डायमन्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको समापन समारोहलाई आज यर्हाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो, “खेलकूद क्षेत्रले खेलाडीको शारीरिक तन्दुरुस्तीको काम मात्रै गर्दैन, यसले समग्र राष्ट्रकै गौरव बढाइरहेको हुन्छ, स्वस्थ र दक्ष जनशक्ति उत्पादन गर्नेदेखि देशको समृद्धिका लागि खेलकूद निकै महत्वपूर्ण छ ।”



देशमा थुप्रै प्रतिभावान खेलाडी रहेको भन्दै सभामुख महराले राज्यका तर्फबाट खेलाडीलाई उचित प्रोत्साहन गर्न नसकिएको बताउनुभयो । आफू अहिले राज्यको नीति निर्माण तहमा रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “खेलकूद क्षेत्रको विकास गर्न ऐन कानून कस्ता खालका बनाउने र कहाँ कहाँ संशोधन गर्ने, मलाई भन्नुहोस्, त्यसका लागि मैले मेरो तर्फबाट गर्ने पहलकदमी अघि बढाउँछु ।”

सो अवसरमा प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र चौथो तथा उत्कृष्ट खेलाडीलाई सभामुख महराले ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गर्नुभएको थियो । भलिबल सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्माले भलिबल राष्ट्रिय खेल भए पनि बजेट अभावमा चाहेजति प्रतियोगिता सञ्चालन गर्न कठिनाइ भएको बताउनुभयो ।
-रासस

प्रतिक्रिया