गर्भवती महिलालाई किन लाग्छ वाकवाकी ?

रिता घिसिंग

एजेन्सी : गर्भवती अवस्थामा प्राय महिलालाई वाकवाकी लाग्ने गर्छ । नेपालको परिपेक्षमा प्रेग्नेन्सी टेस्ट गराउने प्रचलन निकै कम छ । सहरी क्षेत्रमा यसको क्रम बढे पनि ग्रामीण भेगमा भने अधिकांशले गराउँदैनन् । केही लक्षणका आधारमा गर्भवती भएको अड्कल लगाउँछन् ।

मुख्य रूपमा वाकवाकी र बान्तालाई गर्भवतीको संकेतका रूपमा लिने गरेको पाइन्छ । तर, गर्भ रहेपछि किन यस्तो हुन्छ त भन्ने कुरामा भने धेरै मानिस अनभिज्ञ हुन सक्छन् । कहिलेकाहीँ गर्भ नबस्दासमेत गर्भवतीको लक्षण देखिन सक्छ । यो एक प्रकारको समस्या हो ।

यसकारण वाकवाकी र बान्ता
एचसिजी हर्मोनका कारण गर्भवती महिलालाई वाकवाकी लााग्ने र रिंगटा लाग्ने गर्छ । जसलाई ‘प्रेग्नेन्सी हर्मोन’ पनि भन्ने गरिन्छ । यस्तो हर्मोनले निषेचित अन्डालाई पाठेघरको भित्तामा आएर बस्न सघाउँछ ।

गर्भवती अवस्थामा बान्ता र वाकवाकी लाग्ने अर्को कारण भने इस्ट्रोजिन हर्मोन हो । यस्तो हर्मोन गर्भवती महिलामा बढेर जान्छ ।

अवधि
७० प्रतिशत गर्भवती महिलालाई यस्तो लक्षण देखिने गरेको पाइन्छ । सामान्यतया वाकवाकी लाग्न गर्भवती भएको ४–८ हप्ताबाट सुरु हुन्छ । र, यो क्रम १३–१४ हप्तासम्म रहन्छ । कसैकसैलाई भने अलि पछिसम्म यसले दुःख दिन सक्छ । यस्तो अवस्थामा आमालाई त असहज हुन्छ । तर, पेटमा भएको बच्चालाई भने कुनै असर पुर्याउँदैन ।

घरेलु उपचार
बढी नै समस्या भएमा घरेलु उपचार विधि अपनाउन पनि सकिन्छ । त्यसका लागि वाकवाकी लाग्ने वा बढाउने खानेकुरा खानुहुँदैन । त्यस्ता खानाको गन्धबाट पनि टाढै रहँदा राम्रो हुन्छ ।

बिहान उठ्नुअघि भिजाएर राखेको गेडागुडी खानुपर्छ । जसलाई भेज लाइक टोस्ट पनि भनिन्छ । र, त्यो खाएको केही समयपछि मात्र उठ्ने गर्नुपर्छ ।

एकैपटक थुप्रै खाने बानीलाई सुधार गर्दा राम्रो हुन्छ । बरु थोरै–थोरै छोटो–छोटो समयको ग्यापमा खाँदा यस्तो समस्याबाट छुटकारा पाउन सहयोग हुन्छ । यसले स्वस्थ रहन पनि सहयोग पुग्छ ।

नेपालीको खानासँगै पानी खाने संस्कार छ । तर, खानासँग धेरै पानी नखाँदा पनि यस्तो समस्याबाट केही हदसम्म छुटकारा पाउन सकिन्छ ।

यसै पनि गर्भवती आमाले आफ्नो स्वास्थ्य र भोजनमा विशेष ख्याल राख्नुपर्छ । त्यस्तै, वाकवाकी र रिंगटा लाग्ने समस्या बढी भएमा प्रशस्त आराम गर्न आवश्यक हुन्छ ।

गर्भवती आमा बस्ने कोठा तथा घरको वातावरण खुला र राम्रोसँग हावा खेल्ने हुनुपर्छ ।

यसलाई कम गर्न अदुवा राखेर कागतीपानी पनि खान सकिन्छ ।

अधिक मात्रामा आइरनयुक्त खानाको प्रयोगले पनि यस्तो समस्यालाई धेरै घटाउन सकिन्छ । यसका लागि औषधि र चक्की पनि खान सकिन्छ । तर, स्वास्थ्यकर्मीको सल्लाहमा मात्र ।

जटिलता
कतिपय गर्भवती आमालाई वाकवाकी तथा बान्ता हुने समस्या अत्यधिक हुन्छ । यसरी हुने बान्ताबाट शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण तत्वहरूसमेत बाहिरिन सक्छ । त्यसैले यस्तो समस्या बढेमा तुरुन्तै स्वास्थ्य संस्था पुग्न आवश्यक हुन्छ ।

कहिलेकाहीँ मोलार प्रेग्नेन्सीका कारण पनि वाकवाकी लाग्ने, बान्ता हुने समस्या हुन्छ । मोलार प्रेग्नेन्सीले गर्भवती भएजस्तै लक्षण देखाउँछ, तर पेटमा बच्चा भने हुँदैन । त्यसैले यसबारे पनि सजग हुन आवश्यक हुन्छ ।

प्रतिक्रिया