गाउँपालिकाद्वारा कृषकलाई हाते ट्र्याक्टर वितरण

रिता घिसिंग

गोरखा, ६ चैत (रासस) : शहीद लखन गाउँपालिकाले कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको छ । गाउँपालिकाले चालू आर्थिक वर्षको कृषक अनुदान कार्यक्रमअन्तर्गत सहुलियतमा हाते ट्र्याक्टर वितरण गरिएको गाउँपालिका कृषि शाखाका प्रमुख विजय पौडेलले जानकारी दिनुभयो ।


उहाँले पहिलो चरणमा छनोटमा परेका १२ कृषि समूह र सहकारीलाई ट्र्याक्टर वितरण गरेका र अब केही दिनभित्रै थप आठ ट्र्याक्टर वितरण गर्ने तयारी भएको बताउनुभयो । पहिलो चरणमा छ वडाका कृषि समूह तथा कृषि सहकारीलाई ट्र्याक्टर वितरण गरिएको उहाँको भनाइ छ ।
“गाउँपालिकाले यो आवमा एक वडा, दुई हाते ट्र्याक्टर वितरणका लागि बजेट विनियोजन गरेको थियो”, शाखा प्रमुख पौडेलले भन्नुभयो, “त्यही कार्यक्रमअन्तर्गत पहिलो चरणमा ट्रयाक्टर वितरण गरिएको हो ।” ट्र्याक्टर बितरणका लागि रु नौ लाख बजेट विनियोजन भएको उहाँले जानकारी दिनुभयो ।

सार्वजनिक सूचना प्रकाशन गरी गाउँपालिकाभित्र दर्ता भएका कृषि फार्म, व्यावसायिक कृषिखेती गर्दै आएका किसान र कृषि सहकारीलाई अनुदानमा ट्रयाक्टर वितरण गरेको उहाँले बताउनुभयो । “३५ जना कृषक तथा कृषि समूहहरु तथा कृषि सहकारीको निवेदन परेको थियो”, उहाँले भन्नुभयो, “निवेदन परेकामध्ये यो वर्षमा १८ जनालाई अनुदान उपलब्ध गराउने निर्णय गाउँपालिकाले गरेको हो ।” वितरण गरिएका ट्र्याक्टरमध्ये चार डिजेलबाट सञ्चालन हुने र बाँकी आठ पेट्रोलबाट सञ्चालन हुने खालको रहेको शाखा प्रमुख पौडेलले बताउनुभयो ।

छनोटमा परेका कृषकलाई सदरमुकाममा दुई दिइने ट्र्याक्टर चलाउने तालीमसमेत गाउँपालिकाले प्रदान गरेको उहाँले जानकारी दिदनुभयो । कृषकलाई वितरण गरिएका ट्र्याक्टरले एक घण्टामा दुई रोपनीसम्म जमीन जोत्न सक्ने बताइएको छ ।

प्रतिक्रिया