गाडी किन्नमै रु ११ करोड खर्च

admin

डोटी, ६ जेठ: जिल्लाका नौ स्थानीय तहले डेढ वर्षको अवधिमा गाडी खरीदमा झण्डै रु ११ करोड खर्च गरेका छन् । स्थानीय तहको निर्वाचन भइसकेपछि विसं २०७४ साउनदेखि विसं २०७५ चैतसम्मको अवधिमा रु १० करोड ९३ लाख ८६ हजार ८२९ गाडी खरीदमा खर्च गरेका छन् । गाडी खरीदमा सबैभन्दा धेरै खर्च पूर्वीचौकी गाउँपालिकाले गरेको पाइएको छ । नगरपालिकाभन्दा यहाँका गाउँपालिकाले गाडी खरीद बढी गरेका छन् । जिल्लाका अधिकांश स्थानीय तहसँग एक्साभेटर र डोजर छन् । कतिपय किन्ने तयारीमा छन् । तर, डोजर प्रयोगको नीति नियम पालना भएको छैन ।

पूर्वीचौकीले हालसम्म रु दुई करोड ६७ लाख ५५ हजार ६५२ विभिन्न सवारी साधन खरीदमा खर्च गरेको छ । दश मोटरसाइकल खरीदमा रु २४ लाख ९७ हजार २०० खर्च भएको छ । त्यस्तै रु ३७ लाख २० हजारमा पिकअप जीप, रु एक करोड २३ लाख ६२ हजार ४५० एक्साभेटर खरीद गरिएको छ । यसैगरी रु ८१ लाख ७६ हजारमा दुईवटा बस पनि सो गाउँपालिकाले किनेको छ ।

शिखर नगरपालिकाले रु एक करोड ५४ लाख २९ हजार ३०० खर्च गरेर विभिन्न गाडी किनेको पाइएको छ । दुई नगर बसमा रु ५६ लाख ६० हजार, टिपरमा रु ३८ लाख ६९ हजार, जीपमा रु ३६ लाख ९५ हजार, आठ मोटरसाइकल खरीदमा रु २० लाख २६ हजार ४०० र एउटा स्कुटरमा रु एक लाख ७८ हजार ९०० खर्च गरेको देखिएको छ । दिपायल सिलगढी नगरपालिकाले रु एक करोड छ लाख ८७ हजार ४८९ मा गाडी खरीद गरेको छ । उक्त नगरपालिकाले रु ३४ लाख आठ हजार ६५० मा १५ मोटरसाइकल खरीद गरेको पाइएको छ । त्यस्तै दुई नगर बसमा रु ५१ लाख ९० हजार, एउटा ट्याक्टरमा रु १६ लाख ३८ हजार ८८४ र सक्सनम ट्याङ्कमा रु चार लाख ५० हजार खर्च गरेको छ ।

बडीकेदार गाउँपालिकाले विभिन्न गाडी खरीदमा रु एक करोड ८१ लाख ७९ हजार १०० खर्च गरेको छ । सो गाउँपालिकामा रु एक करोड २० लाखमा एउटा सडक खन्ने एक्साभेटर, रु ३८ लाख ७० हजारमा एउटा पिकअप जीप र रु २३ लाख नौ हजार १०० मा नौ मोटरसाइकल खरीद गरिएको छ । त्यस्तै सायल गाउँपालिकाले गाडी खरीदमा रु एक करोड ५६ लाख १६ हजार २०० खर्च गरेको पाइएको छ । सो गाउँपालिकाले रु सात लाख ४६ हजार २०० मा तीन वटा मोटरसाइकल खरीद गरेको छ । यस्तै महिन्द्रा बोलेरो जीपमा रु २३ लाख ८५ हजार र एक्साभेटरमा रु एक करोड २४ लाख ८५ हजार खर्च गरेको देखिएको छ ।

केआई सिंह गाउँपालिकाले सबैभन्दा धेरै १७ वटा मोटरसाइकल खरीद गरेको छ । मोटरसाइकल खरीदमा रु ३२ लाख ६९ हजार ११५ खर्च भएको छ । यस्तै मिनी टिपरमा रु २० लाख १३ हजार २७४ र जेसिबी खरीदमा रु ४० लाख ९९ हजार ९९९ गरी कूल रु ९३ लाख ८२ हजार ३८८ खर्च भएको छ । बोगटान गाउँपालिकाले रु ७६ लाख १३ हजार ८०० गाडी खरीदमा खर्च गरेको छ । उक्त गाउँपालिकाले चार मोटरसाइकल खरीदमा रु नौ लाख ७८ हजार ८०० खर्च गरेको छ । यस्तै डोजर खरीदमा रु ४२ लाख ५० हजार र महिन्द्रा बोलेरो जीप खरीदमा रु २३ लाख ८५ हजार खर्च भएको देखिएको छ ।

जोरायल गाउँपालिकाको गाडी खरीदमा अन्यको स्थानीय तहभन्दा तुलनात्मक रुपमा खर्च कम भएको देखिएको छ । उक्त गाउँपालिकाले रु ५८ लाख ३८ हजार ९९९ गाडी खरीदमा खर्च गरेको देखिन्छ । जोरायलले १० वटा मोटरसाइकल खरीदमा रु २२ लाख आठ हजार ९९९ खर्च गरेको छ । यसैगरी एउटा महिन्द्रा पिकअप जीपमा रु ३६ लाख ३० हजार खर्च गरेको छ ।

आदर्श गाउँपालिकाले रु ५७ लाख २२ हजार ९०० का गाडी खरीद गरेको छ । चौध मोटरसाइकल खरीदमा रु ३३ लाख ३७ हजार ९०० र एउटा महिन्द्रा बोलेरो जीप खरीदमा रु २३ लाख ८५ हजार खर्च देखाइएको छ । स्थानीय तहले खरीद गरेका दुई पाङ्ग्रे सवारी साधनको मूल्यमा एक रुपता देखिएको छैन । एउटै कम्पनीको एउटै मोडलका र एउटै क्षमताका मोटरसाइकल पनि फरक–फरक दरमा खरीद गरिएको पाइएको छ । रासस

प्रतिक्रिया