गीति सङ्ग्रह ‘सफलताको शिखर’ सार्वजनिक

admin

काठमाडौँ, २२ मङ्सिर : गायक गौरव नारायण राईको पहिलो गीति सङ्ग्रह ‘सफलताको शिखर’ सार्वजनिक भएको छ । यहाँ आज आयोजित विमोचन समारोहमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य गोपाल बराइली, गायक तथा सङ्गीतकारहरु भीषण मुकारुङ, विनोद खम्बु, पत्रकार गोपीकृष्ण चापागाईं र गायक राई लगायतले संयुक्त रुपमा सो गीति सङ्ग्रह (सिडी) को विमोचन गर्नुभयो ।

गायक राईले आफ्ना आठ वटा आधुनिक गीतको सङ्ग्रह बनाएर पहिलो पटक ‘सफलताको शिखर’ बजारमा ल्याउनुभएको हो । सङ्ग्रहमा सफलताको शिखर, नौ डाँडापारि, लाग्यो लाग्यो, ठाक्क ठुक्क, मेरो जीवनमा, आधी बाटो र झुकाएर झुक्दैन लगायतका गीतहरु समावेश छन् ।

धनकुटाको पाख्रिवास नगरपालिका–७ मा जन्मिनुभएका राईले चार वटा गीतमा आफैँले सङ्गीत दिनुभएको छ । अन्य गीतमा विनोद खम्बु र कृष्णभक्त राईले सङ्गीत दिनुभएको छ । सात वटा गीतमा उनको एकल स्वर छ । एउटा ‘आधी बाटो’ बोलको गीत भने उहाँले कविता बराइलीसँग मिलेर गाउनुभएको छ ।
-रासस

प्रतिक्रिया