‘गुठी वैदिक साम्यवादको निशानी’

admin

काठमाडौं, असार ३: सत्तापक्षीय नेताले गुठीलाई सामन्तवादको अवशेष भनिरहेका बेला सम्पदाविद्ले भने यो साम्यवादको निशानी भएको बताएका छन् । गुठी सामन्तवादको अवशेष नभई वैदिक साम्यवादबाट जन्मिएको संस्कृतिविद् डा. गोविन्द टन्डनको भनाइ छ । अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ ।‘गुठी राज्यले दिएको होइन, दाताले सम्पदा, संस्कृति जोगाउन दिएको चिज हो’, उनले भने, ‘यो कुनै सामन्तवादको अवशेष होइन । साम्यवादबाट जन्मिएको हो ।’ राष्ट्रको गौरवका रूपमा रहेको गुठीलाई सरकारले जोगाउनुपर्ने उनले बताए ।

‘सम्पदा राष्ट्रको गौरव हो । राष्ट्रको स्वतन्त्र अस्तित्वको पहिचान गराउने कुरा हो’, उनले भने, यसलाई जोगाउनुपर्छ । यसमा खलल पु¥याइयो भने संस्कृति लोप हुन्छ । यो जग्गाजमिन वा भोगको विषय मात्र होइन । कला, संस्कृति, परम्परा र धर्मको समग्र रूप हो । राष्ट्रको पहिचान हो ।’ कानुन बनाएर गुठी मास्ने काममा सरकार लागेको उनको आरोप छ । ‘देउता बोल्दैन, हामीले बोलिदिएको मात्रै हो’, उनले भने ।

गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक २०७५ को चर्को विरोध भइरहेको छ । विधेयकको दफा ५३ मा गुठीको जग्गा रैतानी नम्बरी कायम गरी व्यक्तिका नाममा लैजाने व्यवस्था प्रस्तावित छ । दफा ५६ मा गुठी अधीनस्थ जग्गाको मोहियानी हक कायम गरिने व्यवस्था छ । यसमै मोहीले आधा जग्गा प्राप्त गर्ने व्यवस्था बर्खिलाप मोहीले न्यूनतम मूल्यको २५ प्रतिशत तिरे सबै जग्गा व्यक्तिका नाममा कायम हुने व्यवस्थासमेत छ । विवादित विषयमा सरकार लचिलो भए पनि आन्दोलनकारी टसमस भएका छैनन् ।

प्रतिक्रिया