ग्रीक प्रधानमन्त्री सिप्रास विरुद्धको अविश्वास प्रस्ताव पारित भएन

कृष्ण रोकाया

एथेन्स, ३ माघ (रासस/एएफपी) : मेसेडोनियाको नाम परिवर्तनको विषयलाई लिएर ग्रिसका प्रधानमन्त्री विरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताव विफल भएको छ । आधिकारिक विवरणमा संसदमा कूल उपस्थित २९९ जना सांसदमध्ये प्रधानमन्त्री अलेक्सिस सिप्रासको पक्षमा १५१ जनाले मतदान गरेका थिए ।

मतदान पश्चात प्रधानमन्त्री सिप्रासले संवाददाताहरुसँग कुरा गर्दै संसदले ग्रीसमा राजनीतिक स्थायित्व कायम राख्न र ग्रीसको अन्तर्राष्ट्रिय विश्वसनीयता आर्जन गर्न सफल भएकामा आभार प्रकट गर्नुभयो ।

प्रधानमन्त्री सिप्रासको अघिल्तिर अब छिमेकी मुलुक मेसेडोनियाको नाम सम्बन्धी विवादास्पद विधेयक संसदबाट पारित गराउनुपर्ने चुनौती छ । मेसेडोनियाको नामका बारेमा दुबै मुलुकमा विरोध भएको थियो ।

गत साता मेसेडोनियाका सांसदहरुले ग्रीससँग भएको एक सहमतिबमोजिम आफ्नो मुलुकको नाम परिवर्तन गरी “उत्तरी मेसेडोनिया गणतन्त्र” राख्न मतदान गरेका थिए । तर, उक्त नाम परिवर्तनलाई ग्रीसको संसदले पनि अनुमोदन गर्नुपर्नेछ ।

संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री सिप्रासले सरकारको लक्ष्य नै संविधान संशोधन गर्ने, न्यूनतम ज्याला वृद्धि गर्ने तथा चर्चहरुको जग्गा विवाद सुल्झाउने रहेको बताउनुभयो । नौ महिनापछि नै संसदको निर्वाचन हुन लागेकाले पनि अहिलेको अविश्वासको प्रस्ताव विफल हुँदा प्रधानमन्त्री सिप्रासलाई फाइदा पुग्ने अनुमान गरिएको छ ।

यद्यपी मेसेडोनिया सम्झौताका बारेमा ग्रीसको संसदमा मतदान हुने मिति तय भइसकेको छैन, तर प्रधानमन्त्री सिप्रासले जनवरी अघि नै उक्त कार्य गरिने बताउनुभएको थियो ।

युरोपेली युनियन (इयू) र नेटोले मेसेडोनिया र ग्रीसबीच भएको नाम परिवर्तन सम्बन्धी सम्झौताको स्वागत गरिसकेका छन् । खासगरी, मेसेडोनियालाई स्वतन्त्र राष्ट्रका रुपमा मान्यता नदिने ग्रीसको विरोधका कारण इयू र नेटोको सदस्यता प्राप्त हुन सकेको थिएन, किनभने ग्रीसभित्रै मेसेडोनिया राज्य समेत रहेको छ ।

उक्त प्रस्तावमाथि ग्रीसभित्रै ठूलो विरोध छ । ग्रीसका धेरै नागरिकले एकीकृत मेसेडोनिया (ग्रीसको उत्तरी राज्य र स्वतन्त्र मेसेडोनिया) लाई आफ्नो ऐतिहासिक सांस्कृतिक सम्पदा स्थलका रुपमा लिन्छन् । यो ठाउँलाई अलेक्जान्डर द ग्रेटले विश्वचर्चित बनाएका थिए ।

उत्तरी ग्रीसका धेरै शहरमा स्थानीय सांसदहरुलाई नाम परिवर्तनको विपक्षमा मतदान गर्न अनुरोध गर्दै शहरहरुमा पर्चा टाँसिएका थिए । केही सांसदले आफूहरुलाई धम्की पनि आएको बताएका छन् ।

पर्चा टाँसेको विरोधमा प्रहरीले केही व्यक्तिलाई गिरफ्तार गर्नुका साथै धम्की दिने व्यक्तिहरुका बारेमा अनुसन्धान गरिरहेको छ ।

विपक्षी नेता तथा सांसदहरुले ग्रीसका प्रधानमन्त्रीले संसदमा १५१ मतका साथ विश्वासको मत पाए पनि मेसेडोनियाको नाम फेर्न दिने सम्बन्धी संसदमा हुने मतदानमा पराजित हुने दाबी गरेका छन् ।

प्रतिक्रिया