घरमा चोरी गर्ने गिरोह पक्राउ

राष्ट्रिय समाचार समिति

धादिङ, ८ साउन : घर–घरमा गएर मोबाइल, गहनालगायतका सामग्री चोरी गर्ने एक गिरोहलाई जिल्ला प्रहरी कार्यालयले आज पक्राउ गरी सार्वजनिक गरेको छ । धादिङबँेसी र आसपासका क्षेत्रमा मोबाइल, सुनका गरगहना, ढलौटका कचौरा, करुवालगायतका सामग्री चोरी गरी लुकाई राखेको अवस्थामा सामाग्रीसहित तीन युवालाई पक्राउ गरेको प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताउनुभयो ।



नीलकण्ठ नगरपालिका–३ एमालेचोकका चोकनारायण श्रेष्ठले गत असार ९ गते आफ्नो मोबाइल हराएपछि जिल्ला प्रहरी कार्यालयमा सामान खोजी गर्न निवेदन दिनुभएको थियो । श्रोष्ठको निवेदन र जिल्ला सदरमुकाम तथा आसपासका क्षेत्रमा मोबाइल र अन्य सामाग्री निरन्तर हराइरहेका भन्ने प्रहरीमा आएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा नीलकण्ठ–४ का २० वर्षीय सुजन ठकुरी, १८ वर्षीय किशान श्रेष्ठ र २० वर्षीय निशान सुन्दास रहेका छन् । प्रहरीले मोबाइल चोरको सुराकीका आधारमा सुन्दासको कोठा खानतलासी गरेपछि चोरी गरेर राखेका सामग्री फेला पारेको थियो । उनीहरुका साथबाट विभिन्न ब्राण्डका १२ थान मोबाइल, दुई खुकुरी, दुई ढलौटका लोटा, १४ ढलौटका कचौरा, चोरी गर्नमा प्रयोग गरिएको फलामको हम्मर, रेन्ची, लाइटर, सुनजस्तै देखिने मङ्गलसुत्र र माला प्रहरीले बरामद गरेको छ । रासस

प्रतिक्रिया