घुस लिएको अभियोगमा वली पक्राउ

राष्ट्रिय समाचार समिति

काठमाडौँ, १० असार: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु २५ हजार घुस लिएको अभियोगमा शिक्षा विकास तथा समन्वय एकाइ सल्यानका एकाइ प्रमुख धनबहादुर वलीलाई पक्राउ गरेको छ । शिक्षक सरुवा प्रक्रिया सहजीकरण गरिदिने भन्दै प्रमुख वलीले सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको सुर्खेतबाट गएको टोलीले आज उहाँकै कार्यलय परिसरबाट पक्राउ गरेको हो । आरोपी वलीको अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

त्यस्तै आयोगले साना तथा मझौला कृषक आयस्तर वृद्धि परियोजना नेपालगञ्जमा कार्यरत तत्कालीन अनुगमन तथा मूल्याङ्कन अधिकृत देवराज भुसालसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नारायण नगरपालिका दैलेख–१ कुइकानास्थित श्रीस्थान ताजा तरकारी कृषक समूहलाई अदुवा खेती गर्न प्रदान गर्नुपर्ने रकम नदिइ नक्कली हस्ताक्षर गराई भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

आयोगका अनुसार कर्णाली सामुदायिक विकास केन्द्र नेपालगञ्जमा कार्यरत तत्कालीन अनुगमन तथा मूल्याङ्कन अधिकृत भुसाल, कृषक समूहका अध्यक्ष रामकुमारी भन्ने रामकला केसी र तत्कालीन कृषि प्राविधिक मोतिप्रसाद न्यौपानेविरुद्ध रु पाँच लाख ७७ हजार ३५० बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ । उनीहरुलाई बिगोबमोजिम कारवाही र कैद सजायको समेत माग गरिएको आयोगले जनाएको छ । रासस

प्रतिक्रिया