चट्याङ लागेर तीनको मृत्यु

राष्ट्रिय समाचार समिति

सप्तरी, ७ साउन : जिल्लाको विभिन्न ठाउँमा चट्याङ लागेर तीनजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार जिल्लाको पश्चिमवर्ती सुरुङ्गा नगरपालिका-३ दौलतपुर घर भएका ५५ वर्षीय हरीहर चौधरीको चट्याङ् लागेर मृत्यु भएको हो। आफ्नै खेतमा काम गरिरहेका बेला बिहान १० बजेतिर चट्याङ लागेर घाइते भएपछि चौधरीको उपचारको क्रममा लहानस्थित सप्तऋषि अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, हनुमानगर कंकालिनी नगरपालिका ११ योगिनियाँकी एक महिलाको सोमबार बिहान चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानीय शुभनारायण पण्डितकी पत्नी ४५ वर्षीया शिवसतीदेवी पण्डितको खेतमा खाना पुर्‍याएर घर फर्कने क्रममा चट्याङ लागि मृत्यु भएको हो।

जिल्लाको दक्षिणवर्ती तिलाठी कोइलाडी गाउँपालिका १ तिलाठीकी एक किशोरीको खेतमा काम गरिरहेका बेला चट्याङ लागेर मृत्यु भएको छ। खेतमा काम गरिरहेको समयमा चट्याङ लागेर स्थानीय लक्ष्मण यादवकी छोरी १५ वर्षीया पुनम यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया