चाबहिल–जोरपाटी–साँखु सडकमा पाइलैपिच्छे समस्या

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ८ भदौ: सडकको उपलब्ध चौडाइमा कालोपत्र गर्नु भनी सरकारले निर्णय गरेको लामो समयसम्म पनि चाबहिल–जोरपाटी–वाग्मती–साँखु सडक अलपत्र छ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले केन्द्रविन्दुबाट ११÷११ मिटर बढाएर कालोपत्र गर्ने गरी विसं २०७२ ठेक्का सम्झौता गरेको थियो । सम्झौता गरेर काम शुरु गरेको चार वर्षसम्म पनि सडक अलपत्र छ । यसबीचमा सडक किनार दायाँबायाँका जनताले सर्वोच्चमा मुद्दा हाले ।

Vehicles seen in the muddy road at Boudha, Kathmandu on Tuesday, July 3, 2018.
Photo: Bijay Gajmer/Republica/Nagarik

अदालतले घर जग्गाकै मुआब्जा दिएर मात्र सडक विस्तार गर्नु भनी सरकारलाई २०७४ असोजमा आदेश दियो । सरकारले पुनरावलोकनको माग गरेकामा मुआब्जा नै दिनू भन्ने आदेश भएको थियो । यसपछि सरकारले चाबहिल–जोरपाटी–साँखु र त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा सडकमा उपलब्ध चौडाइमै कालोपत्र गर्ने निर्णय गरेको पनि एक वर्ष बितिसकेको आयोजना प्रमुख अर्जुन अर्यालले बताउनुभयो ।

“सडक विस्तारका लागि ‘राइट अप क्लियर’ नगरी ठेक्का गर्दा समस्या आएको हो, एउटा समूह सडक छिटो बनाऊ भन्छ, अर्को समूह सर्वोच्चको आदेश कार्यान्वयन गर भन्छ, उपलब्ध सडकमा छिटो कालोपत्र गर्न सरकारले भनेको छ”, उहाँले भन्नुभयो । सडकको शुरु बिन्दु चाबहिलबाट चुच्चेपाटीमै धेरै समस्या देखिन्छ । चाबहिलबाट मैँजुबहाल जाने चोकमा ढल बिच्छ्याउन वर्षौं लगाइएको छ । ढल र खानेपानीको पाइपसँगै राखिँदा पछि फेरि समस्या हुने निश्चित छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले अव्यवस्थामा रहेको सडकको अनुगमन गर्दा धेरै ठाउँमा काम गर्न लागेजस्तो देखिएको छ ।

वर्षौं चुप लागेर बस्ने निर्माण व्यवसायी सरोकार भएका निकायले अनुगमन गर्ने भनेपछि यन्त्रसहित सडकमा काम गरे झैँ गरी रिझाउन खोज्छन् । चाबहिलका स्थानीयवासी शङ्करकुमार श्रेष्ठ दुई दिनअघि देखि किन काम हुन थालेको रहेछ भन्ने संसदीय समितिको अनुगमन आएपछि प्रस्ट भएको बताउनुहुन्छ । समितिको अनुगमनपछि पनि काम हुने विश्वास उहाँमा छैन ।

महिनौँ अघि चाबहिलबाट चुच्चेपाटीसम्मको सडक कालोपत्र गर्न हुने अवस्थामा पुगे पनि ढल व्यवस्थित नहुँदा काम रोकिएको छ । मेलम्ची खानेपानीको पाइप बिच्छ्याउन बाँकी नै रहेकाले पनि यहाँको सडक छिटै नबन्ने स्थानीय राजेन्द्रनाथ श्रेष्ठले बताउनुभयो । टुसालचोकमा हायात होटलको पौडीपोखरीबाट निस्कने पानी र महाङ्कालबाट बर्सातका समयमा आउने बाढीले सडक जीर्ण छ । दुवैको व्यवस्थापन नभएसम्म सडक सुध्रिँदैन । दुई महीनाअघि हायात होटलबाट टुसालसम्म गरिएको कालोपत्र पौडीपोखरीको पानी र बर्सातको भेलले बिग्रिसकेको छ ।

टुसालसम्म २२ मिटरकै हाराहारीको सडक भए पनि त्यसपछि साँघुरो देखिन्छ । महानगरीय प्रहरी वृत्त बौद्धको भवनसमेत काठमाडौँ उपत्यका विकास प्राधिकरणले तोकेको मापदण्ड विपरीत छ । मापदण्ड विपरीतको सरकारी भवन पहिलो चरणमा भत्काउनुपर्ने समिति सभापति कल्याणीकुमारी खड्काले अनुगमनका क्रममा बताउनुभयो ।

प्रतिक्रिया