चितुवाको आक्रमणबाट ज्यान गुमाएकी बालिकको परिवारलाई राहत

admin

दमौली, १ मङ्सिर: चितुवाको आक्रमणबाट ज्यान गुमाएकी तनहुँको भानु नगरपालिका–४ चिसापानी जोखने निवासी चार वर्षीया रञ्जिता लम्सालको परिवारलाई राहतस्वरुप रकम उपलब्ध गराइएको छ ।

तनहुँ डिभिजन वन कार्यालयका अधिकृत केदार बराल, भानु नगरपालिकाका प्रमुख उदयराज गौली र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रदेव पाण्डेले मृतकका आमा सरस्वती लम्साललाई घरमै पुगी राहतस्वरुप रु ५० हजार प्रदान गर्नुभएको हो । वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिका बमोजिम वन्यजन्तुको आक्रमणमा परी मानिस सामान्य घाइते भएमा रु ५० हजार, गम्भीर घाइते भएमा रु एक लाख र मृत्यु भएमा निजका परिवारलाई अधिकतम रु १० लाखसम्म उपलब्ध गराउने व्यवस्था छ । सोही निर्देशिका बमोजिम मृतकका परिवारलाई रु १० लाख उपलब्ध गराउनका लागि आवश्यक प्रक्रिया शुरु गरिएको डिभिजनल वन अधिकृत बरालले जानकारी दिनुभयो ।

घरको आँगनमा खेलिरहेको अवस्थामा रञ्जितालाई साँझ ५ बजे चितुवाले आक्रमणबाट घाइते भए पछि उपचारका लागि दमौली अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक बालिकाको बुबा कृष्ण लम्साल वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् ।
यसअघि विसं २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका छ वर्षीय वर्षीय विशाल श्रेष्ठको पनि चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । उनको परिवारलाई समेत रु १० लाख राहत प्रदान गरिसकिएको छ । ।
-रासस

प्रतिक्रिया