चेम्बरले उत्पत्तिको प्रमाणपत्र अनलाइनबाटै जारी गर्ने

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ३ साउन: नेपाल चेम्बर अफ कमर्शले उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन) अब अनलाइन प्रणालीबाट जारी गर्ने व्यवस्था गरेको छ । चेम्बरमा आज आयोजित कार्यक्रममा वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले अनलाइन प्रणालीको प्रारम्भिक शुभारम्भ गर्नुभयो । अनलाइनबाटै उत्पत्तिको प्रमाणपत्र जारी गर्ने व्यवस्था भएसँगै निकासी प्रर्वद्धनको क्षेत्र नयाँ युगमा प्रवेश गरेको छ । यससँगै निकासी व्यापार सहज, सरल, छिटो र झन्झटमुक्त हुने अपेक्षा गरिएको छ । यो व्यवस्था भदौ १ गतेदेखि पूर्णरुपमा लागू हुनेछ ।

सो अवसरमा वाणिज्य तथा आपूर्ति सचिव अधिकारीले समय तथा श्रमको बचत तथा लागत कटौती हुँदा व्यापार विस्तारमा सहयोग पुग्ने बताउनुभयो । नयाँ व्यवस्थासँगै निकासी सम्बन्धी सम्पूर्ण तथ्याङ्क स्पष्ट हुने उहाँको भनाइ थियो । सचिव अधिकारीले भन्नुभयो, “अब कति मूल्यमा कुन अवधिमा निकासी भयो भन्ने सम्पूर्ण तथ्याङ्क क्षण भरमा आउँछ ।”

कार्यक्रममा चेम्बर अध्यक्ष श्रेष्ठले सरकारले घोषणा गरेको ‘डिजिटल नेपाल’को अवधारणाअनुरुप नै निकासी क्षेत्रमा अनलाइनबाटै उत्पत्तिको प्रमाणपत्र जारी गर्ने व्यवस्था समय सान्दर्भिक रहेको बताउनुभयो । यसैगरी नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घले पनि अनलाइनबाटै उत्पत्तिको प्रमाणपत्र जारी गर्ने व्यवस्थाको अनौपचारिक प्रारम्भ गरिसकेका छन् ।

प्रतिक्रिया