चोरीको रकमसहित पक्राउ

admin

डोटी, ५ वैशाख : भारतबाट चोरी गरी ल्याएको रकमसहित डोटीमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चोरी गरेको रकमसहित पक्राउपर्नेमा केआइसिंह गाउँपालिका–२ बस्ने केशब भुल रहेका छन् । पक्राउ परेका भुलबाट प्रहरीले रु चार लाख ३१ हजार बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक लालबहादुर धामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पक्राउ परेका भुलले भारतको लुधियाना शहरबाट चोरी गरी रकम ल्याएको छ भन्ने सूचनाका आधारमा हामीले पक्राउ गरेका हौँ, बाँकी अनुसन्धान भइरहेको छ ।” उता सो गाउँपालिकाका स्थानीयवासी तथा राष्ट्रिय जनमोर्चाका नेता मीनबहादुर मलासीले पक्राउ परेका भुलबाट प्रहरीले रु चार लाख ६० हजार बरामद गरेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “प्रहरीको टोली आएर भुलको भरमा खान तलासी गरेर रु चार लाख ६० हजार लगेको हो, अहिले रु चार लाख ३१ हजारमात्रै बरामद भयो भनेको छ, बाँकी २९ हजार कसले लुकायो ? ।” प्रहरीले बरामद गरेको भनिएको र स्थानीय प्रत्यक्षदर्शीले दाबी गरेको रकममा फरक परेको हो ।
-रासस

प्रतिक्रिया