च्याउको बीउ उत्पादन केन्द्र सञ्चालन

admin

लमही, १ असार: दाङको राप्ती गाउँपालिका–४ मौरीघाटमा च्याउको बीउ उत्पादन केन्द्र सञ्चालनमा आएको छ । स्थानीयवासी दोर्ण जिसीले बहुउद्देश्य कृषि तथा च्याउखेती फार्म स्थापना गरी व्यवसाय सञ्चालन गर्नुभएको हो । दाङमै च्याउको बीउ उत्पादन गर्न थालिएपछि यस क्षेत्रका किसानलाई सहज हुने भएको छ । “यसअघि च्याउको बीउ ल्याउन जिल्ला बाहिर जानुपर्ने अवस्था थियो”, जिसीले भन्नुभयो, “तर अहिले हामीले च्याउको बीउ उत्पादन गर्न थालेपछि दाङका सबैले यहीबाट लिने गर्नुभएको छ ।”



शिक्षक पेशामा आबद्ध जिसीले विसं २०६० देखि च्याउखेती शुरु गरेपनि भर्खरै मात्रै च्याउको बीउ उत्पादन शुरु गरेका हुन् । उहाँले बीउ उत्पादनबाटै मासिक रु एक लाखसम्म आम्दानी गर्ने गरेको बताउनुभयो । “यसअघि मैले च्याउ उत्पादन फार्म सञ्चालन गरेको थिएँ”, उहाँले भन्नुभयो, “तर अहिले च्याउको बीउ पनि उत्पादन गर्ने गरेको छु, च्याउको बीउबाट मात्रै मासिक रु एक लाख जति आम्दानी हुने गरेको छ ।” उहाँले जाडो मौसममा हुने विभिन्न जातका आइस्ट्रल च्याउ, बटम च्याउ र गर्मी मौसममा हुने दुधे च्याउको बीउ उत्पादन गर्ने गरेको बताउनुभयो । एक हजार क्विन्टल गहुँको बीउबाट मासिक पाँच हजार पोका बीउ उत्पादन हुने जिसीको भनाइ छ ।

नेपालको नार्क र भारतको पन्तनगरबाट तीन महीनाको प्राविधिक ज्ञान हासिल गरेर च्याउको बीउ उत्पादन शुरु गरेको उहाँले बताउनुभयो । उहाँले उत्पादन गरेको च्याउको बीउ दाङसहित प्यूठान, रुकुम, रोल्पा, सल्यान, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली र धनगढीसम्मसमेत निर्यात हुने गरेको छ । जिसीको च्याउ फार्ममा अहिले तीनदेखि पाँच युवाले रोजगारीसमेत पाएका छन् । स्वदेशमै राम्रो उत्पादन गर्न सकिन्छ भन्ने सोच बनाएर यो पेशा अङ्गालेको उहाँको भनाइ छ । रासस

प्रतिक्रिया