छलफल र परामर्श गरेर गुठी विधेयक ल्याउनुपर्छ : नेता सिंह

admin

काठमाडौँ, १ असार : नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सरोकारवालासँग छलफल र परामर्श गरेर गुठी विधेयक ल्याउनुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस काठमाडौँ महानगरपालिकाले आज यहाँ आयोजना गरेको ‘विरोध सभा’लाई सम्बोधन गर्दै उहाँले संसद्मा पेश गरिएको गुठी विधेयक तत्काल फिर्ता गर्नुपर्ने बताउनुभयो । “गुठी विधेयक नेपालको संस्कृति र सभ्यतामाथिको प्रहार गर्ने किसिमले आएको छ, यो काङ्ग्रेसलाई मान्य हुँदैन”, उहाँले भन्नुभयो ।

सरोकारवालासँग छलफल र परामर्श नगरी गलत मनसायबाट गुठी विधेयक आएको उहाँको भनाइ छ । उहाँले गुठी अधिकार सुरक्षित गर्न काङ्ग्रेसले सदन र सडकमा आन्दोलन गर्ने स्पष्ट पार्नुभयो । नेता सिंहले वर्तमान सरकारले गुठी विधेयकबारे गम्भीर भएर सोच्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।

काङ्ग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले सरकारले ल्याएको विधेयक कुनै हालतमा काङ्ग्रेसले नमान्ने बताउनुभयो । “सरकारले प्रेस स्वतन्त्रता, मानव अधिकार आयोग, गुठियारमाथि दमन गर्न खोजेको छ”, उहाँले भन्नुभयो । उहाँले नेपालको सभ्यता नेवार सभ्यताबिना असम्भव रहेको भन्दै नेवारको धर्म, संस्कृति परम्परालाई हस्तक्षेप गरे काङ्ग्रेस कडारूपमा आन्दोलनमा उत्रने उल्लेख गर्नुभयो । धर्म संस्कृतिलाई राज्यले संरक्षण गर्नुपर्ने उहाँको भनाइ थियो ।

काङ्ग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले गुठी विधेयकले धर्म परम्परा र जात्रामाथि प्रहार गर्न खोजेको बताउनुभयो । “देशको अस्तित्व समाप्त हुने गरी गुठी विधेयक आएको छ, यो विधेयक काङ्ग्रेसलाई मान्य हुँदैन”, उहाँले भन्नुभयो । काङ्ग्रेस केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले गुठी विधेयकको नाममा हाम्रो शान, सभ्यता र अस्तित्वमाथि सरकारले प्रहार गर्न खोजेको बताउनुभयो । “संविधानले सनातनदेखि चलिआएको धर्म परम्पराको रक्षा गर्नुपर्छ भनेर उल्लेख गरे पनि सरकार संविधान विरोधी काम गर्न खोजिरहेको छ, यसको बारेमा जनता चनाखो हुनुपर्छ”, उहाँले भन्नुभयो ।

काङ्ग्रेस केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जितले गुठी विधेयकले काठमाडौँको धर्म, संस्कृति, जात्रा र परम्परामाथि हस्तक्षेप गर्न लागेको बताउनुभयो । काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ६ का सांसद भीमसेनदास प्रधानले दुई तिहाइको सरकारले गुठी विधेयकलाई तत्काल सच्याउनुपर्ने बताउनुभयो । काङ्ग्रेस काठमाडौँ क्षेत्र नं १० का सांसद राजेन्द्रकुमार केसीले गुठी विधेयक संविधान, संस्कृति, धर्म विरोधी भएको बताउनुभयो । नेपाली काङ्ग्रेस काठमाडौँका सभापति सबुज बानियाँले गुठी विधेयकको विरोधमा जनता जुट्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो । नेपाली काङ्ग्रेस काठमाडौँ महानगरपालिकाका संयोजक राजुराज जोशीले गुठी विधेयक फिर्ता नलिएसम्म आन्दोलन निरन्तर जारी राख्ने बताउनुभयो । रासस

प्रतिक्रिया