छालालाई जाडोमा कसरी नरम र चम्किलो राख्ने ?

रिता घिसिंग

एजेन्सी : जाडो मौसम छालाको लागि अनुकुल मानिदैन । यसबेला बाहिरी वातारण सुख्खा हुन्छ । यसले छालामा सोझो असर गर्छ । अझ काठमाडौं वा शहरी क्षेत्रमा धुलो धूँवाले छालालाई थप नोक्सान पुर्याउँछ ।

बाहिरी चिसो र भित्री तातोको सन्तुलन नमिल्दा पनि त्यसको प्रभाव छालामा देखिन्छ । त्यसैले जाडो याममा छालाको सौन्दर्य कायम राख्न बढी सजग हुनुपर्छ । छालालाई कसरी मुलायम, चम्किलो, रसिलो, स्वस्थ्य राख्ने भन्ने कुरा जान्नुपर्छ ।

के हुन्छ जाडोमा ?
जाडोमा खासगरी छाला रुखो हुने, फुट्ने, सुख्खा हुने समस्या हुन्छ । त्यस्तै छाला चिलाउने, हात गोडा फुट्ने, छालाको पत्र निस्कने, अनुहारमा चाया(पोतो आउने तथा बढ्ने र रुखो हुने समस्या हुन्छ । अर्कोतिर टाउकोमा पनि चाया पर्ने गर्दछ ।

विशेषगरी जाडोमा बढी देखिने रोगहरुमा एक्जिमा र डर्माडाइटिस, पोलीमफिर्क लाईट इरप्सन, पोरोसिस, पर्नासिस (हात खुट्टाका औला सुन्निएर निलो हुने) आदी पर्दछन् ।

जाडोमा छाला सुख्खा किन हुन्छ ?
जाडो मौसममा वायुको आद्रता कम हुने गर्छ । जसका कारण हावामा पानीको मात्रा कम हुन्छ । त्यस्तै, जाडोमा पानीको सेवन कम हुने तथा शरीरबाट पसिना कम आउने भएकोले पनि जाडोमा छाला सुख्खा हुने गर्छ ।

अब कसरी छालाको चमक जोगाउने त ?
हामीले भनिहाल्यौ, जाडोमा वायुको आद्रता कम हुन्छ । यसले छालामा आवश्यक पानीको मात्रा पुग्दैन । त्यसले गर्दा छाला रुखो, सुख्खा देखिन्छ । यसबाहेक छालाको पत्र उप्किने, चिलाउने, सुन्निने, दागहरु आउने समस्या हुन्छ । यसबाट बच्नका लागि केहि घरेलु उपचार विधी अपनाउन सकिन्छ ।

१.पर्याप्त मात्रामा पानी सेवन गरौं । वा झोलयुक्त पदार्थ सेवन गरौं, जसले छालामा पानीको अभाव पुरा गर्छ ।

२.अनुहारमा तातो पानीको बाफ लिने गरौं । यसले बन्द भएको रोमछिद्र खुल्छ ।

३.हातले हल्का मसाज गरौं । यसले अनुहारमा रक्तसंचार हुन्छ र छालाको सौन्दर्य कायम राख्छ ।

४. साबुनले अनुहार धुने नगरौं । संभव भएसम्म नन ड्राई क्लिन्जर फेसवास प्रयोग गरौं ।

५. मोश्चराइजिङ क्रिम पनि प्रयोग गर्नुपर्छ । यद्यपी आफ्नो छालाको प्रकृति अनुसार त्यसको छनौट गरौं ।

६.बाहिर हिँड्नुअघि सन प्रोटेक्सन क्रिम लगाउनुपर्छ । धुलो र धूँवाबाट छालालाई जोगाउन माक्स, स्कार्फ आदिको प्रयोग गरौं ।

७. छालालाई स्वस्थ्य राख्ने भन्दा हामी छालाको वाहिरी स्यहारमा मात्र ध्यान दिन्छौ । यद्यपी यसमा आन्तरिक रुपले नै हामी सेचत हुनुपर्छ । त्यसका लागि खानपानमा खास ध्यान दिनुपर्छ । स्वस्थ्य र सन्तुलित खानेकुरा सेवन गर्नुपर्छ ।

८ं. मौसमी फलफूल सेवन गरौं, जसले जाडोमा छालाको सौन्दर्य कायम राख्छ ।

९. प्राणायाम जस्ता विधीले पनि शरीरमा पर्याप्त अक्सिजन पुग्छ । यसले छालालाई स्वास्थ्य राख्न सघाउँछ ।

के नगर्ने ?
जाडोमा हिटर तापिन्छ । लामो समय हिटरको रापमा बस्दा त्यसले छालालाई रुखो बनाउँछ ।
अधिक तातो पानीले ननुहाउने
हल्का तातो पानीले नुहाएपश्चात्त मोइस्चराईजिङ्ग क्रिमको प्रयोग गर्ने
भित्र सुतीको लुगा लगाएर मात्र उनी लुगाको प्रयोग गर्ने । अन्यथा उनी लुगा सिधै लगाउँदा यसले छालामा एलर्जीको समस्या निम्त्याउन सक्छ ।
कपालको हेरचाह

जाडोमा छालाको स्याहार जस्तै कपाल पनि अछुतो रहदैन । कपालको हेरचाहका लागि सलफेट नभएको स्याम्पूको प्रयोग गर्नु पर्छ । यसले कपाल सुख्खा हुन दिदैन ।

त्यस्तै, जाडोमा यसै पनि हावा सुख्खा हुने भएकोले कपालमा आइरन तथा ड्रायरको प्रयोग नगर्न चिकित्सकहरु सुझाव दिने गर्छन् । कन्डिसनर वा मोइस्चराइजर भएको हेयर प्याक लगाउन सकिन्छ ।

अनुहारको हेरचाह
जाडोमा जति छालाको हेरचाह आावश्यक छ, अनुहारको हेरचाह गर्न पनि त्यति नै आवश्यक छ । विशषगरी जाडोमा बढी समय घाममा बसिरहने हुदाँ अनुहार कालो हुने , अनुहारमा चाया आउने तथा पोतो आउने डर हुन्छ । त्यो नहोस् भन्नका लागि पनि जाडोमा सनक्रिमको प्रयोग बढी गर्नुपर्छ । सकेसम्म एसपिएफ बढी भएको क्रिमको प्रयोग गर्नु उचित हुन्छ ।

खुट्टाको हेरचाह
जाडोमा खुट्टाको हेरचाह पनि उत्तिकै जरुरी छ । जाडोमा हावा सुख्खा हुदाँ अधिकांश मानिसमा खुट्टा फुट्ने समस्या धेरै हुने गर्छ । यसको रोकथामको लागि पनि मोइस्चराईजर क्रिमको साथमा राती मोजा लगाएर सुत्नु राम्रो हुन्छ । यसले छाला नरम बनाउनुका साथै छालालाई फ्ट्न दिदैन ।

हुन त जाडोमा छालाको स्याहार भन्न साथ हाम्रो दिमागमा ग्लिसिरिन तथा मोइस्चराईजरको प्रयोग नै भन्ने बुझिन्छ । जबकि आवश्यक मात्रामा फयाटी एसिड, माछाको तेल, प्रिम रोज तेल, एभोकार्डो , आलस इत्यादीको सेवन बढाएर पनि छालाको सुख्खापनालाई जरादेखि हटाउन सकिन्छ ।

प्रतिक्रिया