जहाँ महिलाभन्दा धेरै पुरुषमाथि यौनहिंसा हुन्छ

admin

काठमाडौं, असार ३१: हामीले सधैँ महिलामाथि घरेलु हिंसा हुने गरेको, यौन उत्पीडन हुने गरेको सुन्दै आएका छौँ। नेपाली समाजमा महिला नै यौन उत्पीडनको शिकार भएका घटना धेरै छन्। तर, यस्ता मुलुक पनि छन् जहाँ महिलाको तुलनामा धेरै पुरुष यौन उत्पीडनमा पर्ने गरेका छन्। बीबीसी न्यूजले अरबियन राष्ट्रमा गरेको एउटा सर्वेक्षणपछि इराकका बारेमा चकित पार्ने तथ्य सार्वजनिक भएको छ।

यस सर्वेक्षणले महिलाभन्दा धेरै पुरुष यौन शोषणमा पर्ने गरेको देखाएको छ। के हो सत्यता? समी (परिवर्तित नाम) जब १३ वर्षका थिए। उनी आफ्नो विद्यालयको शौचालयमा थिए। जहाँ १५ देखि १७ वर्ष उमेरका तीनजना युवाले उनलाई कुनामा लिएर गए। उनीहरूले जब समीको शरीरका विभिन्न भागमा छुन र दबाब दिन थाले। समी हैरान भए। उनको शरीर जमेजस्तो डल्लो हुन थाल्यो तर पनि उनले हिम्मत जुटाएर गुहार मागे। उनको चिच्याहट अन्य बालबालिकाहरूले सुने र प्रधानाध्यापकलाई खबर गरिदिए।

समीमाथि अत्याचार गर्न खोज्ने युवकहरूलाई विद्यालयले निष्कासन गरिदियो। तर समीको पीडा यतिमा मात्र सिमित भएन। प्रधानाध्यापकले उनलाई पनि आफ्नो कक्षमा बोलाए र अर्को आक्रमण गरे। समीमाथि भएको यौन उत्पीडनलाई विद्यालयले सहमतिबाट भएको यौन घटना मान्यो। यद्यपि समीको भाग्य भन्नुपर्छ – अन्य युवालाई झै उनलाई विद्यालयबाट निष्कासन भने गरिएन। तर, समीको चिन्ता भने हटेन किनकि सबैले उनीमाथि भएको अत्याचारमा उनकै पनि सहमति थियो भन्ने ठाने। त्यस घटनापछि विचलित भएका समीले आफ्ना परिवारलाई पनि यसबारेमा बताउन सकेनन्।

उनले कैयौँ महिनासम्म यो कुरा कसैलाई भनेनन्। समीमाथि यौन उत्पीडन भएको यो पहिलो घटना थियो। समी जब १५ वर्षका भए। त्यो २००७ सालको कुरा हो। उनका पिता बिते। इराकको बेबिलोम प्रान्तमा हुर्किएका समीको काँधमा परिवारको आर्थिक जिम्मेवारी आइपर्‍यो। उनले स्थानीय बजारको एउटा पसलमा काम पाए, जहाँ उनीमाथि फेरि अर्को यौन उत्पीडनको घटना भयो। पसलका मालिकले समीलाई निकै महत्त्व दिन्थे। मालिकको यही व्यवहार उनलाई असहज लाग्थ्यो। एकदिन पसलेको क्रियाकलापले समी अत्तालिए। पसलमा एक्लै भएका बेला मालिकले उनलाई चुम्बन गर्न खोजे।

समी हड्बडाए र नजिकै रहेको जगले मालिकको टाउकोमा बजारिदिए। त्यो घटनापछि समीले एक वर्षसम्म कुनै नोकरी पाएनन्। समी जब १६ वर्षका भए। उनकी आमा र भाइबहिनी घरबाहिर निस्किएका बेला एकजना आफन्त घरमा आए। समीको छेउमा बसे र समीको फोन खोसेर फटाफट पोर्नोग्राफिक तस्वीरहरू हेर्न लागे। अनि अचानक समीलाई समाते, हिर्काए र उनको बलात्कार गरे। यो आक्रमण भने समीका लागि निकै पीडादायी बन्यो, त्यस घटनापछि समीको आँखा वरिपरी भयानक दृश्य नाच्न थाले। अब समी आफू हुर्किएको घरमा बस्न नसक्ने भए । उनी आफ्ना आफन्त र छिमेक दुवैसँग नाता तोड्दै परिवार लिएर बगदाद गए। त्यहाँ उनका परिवारका सबैले काम पाए।

घर र छिमेक गाउँ छाडे पनि समीले पाएको मानसिक घाउले उनलाई सधैँ पछ्याइरह्यो। यद्यपि दिन बित्दै गए। समीले बगदाद शहरमा नयाँ साथीसँग मित्रता गाँसे। उनले उनीहरूमाथि विश्वास गर्न थाले र आफूमाथि भएका यौन उत्पीडनका कुरा साझा गरे। त्यसपछि साथीहरूको प्रतिक्रिया सुनेर समी नै अचम्ममा परे। त्यस्तो उत्पीडन सहन बाध्य समी मात्र एक्लै रहेनछन्। याैन उत्पीडन भोगेका युवाकाे समूह नै रहेछ। समीका साथीहरुले पनि समीलाई आफूले विगतमा भोगेका यौन उत्पीडनका अनुभवहरू सुनाए। सर्वेक्षण के भन्छ ? बीबीसी न्यूज अरबले १० वटा देश र प्यालेष्टाइनमा गरेको सर्वेक्षणबाट ट्युनिसिया र इराकमा महिलाभन्दा धेरै पुरुषहरू मौखिक र शारीरिक उत्पीडनको शिकार भएका देखियो। टयुनीसियामा यो अन्तर इराकमा भन्दा कम १ प्रतिशत मात्र थियो। इराकका ३९ प्रतिशत पुरुषले ३३ प्रतिशत महिलाको तुलनामा यौन उत्पीडन झेल्नुपरेको बताए।

२० प्रतिशत इराकी पुरुषले शारीरिक यौन उत्पीडन भोगेको बताए। यो संख्या महिलाको १७ प्रतिशत थियो। कैयौँ इराकी पुरुषहरूले आफूमाथि घरेलु हिंसा हुने गरेको बताएका बीबीसीले जनाएको छ। महिला अधिकारको हिसावले इराक निकै खराब अवस्थामा रहेको छ।

इराकी पिनल कोडको धारा ४१ ले श्रीमानले श्रीमतीलाई कुटपिट गर्नु गैरकानुनी हुने छैन भनेको छ। तर प्रिन्स्टन युनिभर्सिटीको एउटा रिसर्च नेटवर्क अरब ब्यारोमिटरसँग जोडीएको एक रिसर्च एसोसिएट डक्टर क्याथरिन थोमस भन्छिन्, ‘यो पनि ध्यान दिन आवश्यक छ; यौन उत्पीडनको मामिलामा महिलाहरू प्रायजसो चुपचाप रहनु उचित ठान्दछन्।’ महिलाहरूले आफूमाथि भएका उत्पीडनको बारेमा बताउँदैनन्।

उनीहरू संकोच मान्दछन् र यसबारेमा बताउँदा अझ धेरै पीडा र नोक्सानी भोग्नुपर्ने हो कि भन्ने ठान्दछन्।” ह्यूमन राइट्स वाचका वरिष्ठ इराकी रिसर्चर बेल्किस विलले पनि यो कुरामा सहमति जनाइन्। इराकका अस्पतालहरूमा सुरक्षाबल तैनाथ हुन्छन्। यदि कुनै महिलाले आफूमाथि शोषण भएको बताइन् भने डाक्टरहरूले सुरक्षाबललाई जानकारी गराउनुपर्छ।

ह्यूमन राइट्स वाचले इराकमा समलिङ्गी पुरुष र तेस्रोलिङ्गी महिलामाथि हुने यौन हिंसाका घटना प्रायजसो प्रहरीमा दायर हुने नगरेको जनाएको छ। इराकमा समलिङ्गीको क्षेत्रमा काम गर्ने एनजियो इराक्वीरका संस्थापक आमिरले समलिङ्गी र तेस्रोलिङ्गी पुरुष निरन्तर यौन उत्पीडनको शिकार हुने गरेको बताए।

सामाजिक संरचनाले पुरुषहरूलाई यसबारेमा कुरा गर्ने स्वीकृति समेत नदिएकाले उनीहरू अरुले आफूलाई समलिङ्गी भनेर चिन्लान् भन्ने डरले पनि प्रहरीमा रिपोर्ट दर्ता गर्नै जाँदैनन् र थप हिंसा र भेदभावको शिकार हुन पुग्छन्। समी पुरुषमाथिको बलात्कार कानुनविपरीत भए पनि प्रहरी र समाजले आमरूपमा पीडितहरूप्रति कुनै समवेदना नदेखाउने गरेकाे सुनाउँछन्।

उनी भन्छन्, ‘बलात्कारको मामिलामा उजुरी दर्ता गराउन गयो भने प्रहरीले नै ति व्यक्तिलाई गिज्याउँछन्।’ समीलाई अझै पनि याद छ जब उनी १३ वर्षका थिए त्यसबेला उनीमाथि जे घटना भयो त्यसका लागि उनलाई नै दोषी ठहराइयो। “कानुन मेरो साथमा छ तर कानून लागु गर्नेहरू छैनन्’, उनले भने। समी अहिले २१ वर्षका भए।

उनको जीवन आरामले चलिरहेको छ। उनी बगदादमा एउटा ठूलो अन्तर्राष्ट्रिय कम्पनीमा काम गर्छन् र उनका धेरै राम्रा साथी पनि छन् जसलाई उनको अतीत थाहा छ। बीबीसीको सर्वेक्षणका क्रममा लिइएको अन्तरवार्तामा आफ्नो बारेमा बताएर अन्य पुरुषहरूलाई समेत प्रोत्साहित गरेको समीले महसुस गरेका छन्। तर उनलाइ अहिलेपनि कसैसँग नजिककाे सम्बन्ध बनाउन सक्छु जस्ताे लाग्दैन। ‘सायद एक दिन मैले पनि साथी पाउनेछु’, उनी भन्छन् । ३५ वर्षको उमेरमा यसबारेमा अलि गम्भीर भएर सोच्ने उनले बताए।

प्रतिक्रिया