जापानका रक्षामन्त्री फेरिए

रिता घिसिंग

टोकियो, १६ असोज : जापानका प्रधानमन्त्री शिन्जो आबेले मन्त्रिपरिषद् पुनर्गठन गरी रक्षामन्त्रीमा नयाँ व्यक्तिलाई जिम्मेवारी दिनुभएको छ । मन्त्रिपरिषदका अन्य सदस्यहरुमा खासै हेरफेर गरिएको छैन ।

मुख्य सचिव योशीहिदे सुगाले मन्त्रिपरिषदको नयाँ नाम सार्वजनिक गर्नुभएको थियो । जापानका विदेशमन्त्रीमा तारो कोनो र अर्थमन्त्रीमा तारो आसो यथावत रहनुभएको छ ।

सन् २०१७ देखि रक्षा मन्त्रालयको जिम्मेवारीमा रहनुभएका इचुनोरी ओनोदेराको स्थानमा ६१ वर्षीय ताकेसी इवाया नियुक्त हुनुभएको छ । वरिष्ट राजनीतिज्ञ समेत रहनुभएका ताकेसीले यसअघि रक्षा तथा विदेश उपमन्त्रीको रुपमा जिम्मेवारी वहन गरिसक्नु भएको छ ।

गत महिना लिबरल डेमोक्रेटिक पार्टीको पुनः अध्यक्ष निर्वाचित भएपछि प्रधानमन्त्री आबेले मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको हो । प्रधानमन्त्री आबेले जापानको पुरानो संविधानमा संशोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

“प्रधानमन्त्री आबेले चुनौती होइन सरकारमा स्थायित्व खोज्नु भएको देखिन्छ,” निहोन विश्वविद्यालयका प्राध्यापक तोमोआकी इवाईले बताउनुभयो ।

पुनर्गठित मन्त्रिपरिषदमा सातसुकी कातायामा एक मात्र महिला मन्त्रीका रुपमा नियुक्त हुनुभएको छ । यसअघि दुईजना महिला मन्त्रिमण्डलमा हुनुहुन्थ्यो ।
–रासस

प्रतिक्रिया