जापानको आर्थिक नीति सुधारका लागि आइएमएफको आग्रह

admin

टोकियो, जापान, १८ असोज:विश्वको तेस्रो अर्थतन्त्र जापानमा देखिएको न्युन मुद्रास्फिति, सुस्त विकास र वृद्धवृद्धाको शीघ्र बढ्दो जनसङ्ख्याबारे चासो देखाउँदै अन्तराष्ट्रिय मुद्रा कोष प्रमुख क्रिस्टिन लगार्डले जापानको आर्थिक नीतिलाई परिवर्तन गर्न बिहीबार आग्रह गर्नुभएको छ । उहाँले अति कमजोर मौद्रिक नीतिका कारण जापानको अर्थतन्त्रमा समस्या देखिन थालेको भन्दै जापानी प्रधानमन्त्री सिन्जो आवेको आर्थिक नीतिमाथि ‘नयाँ नजर’ लगाउनुपर्नेमा जापानको ध्यानाकर्षण गराउनुभएको हो

लगार्डले भन्नुभयो, “हामीले जापानको आर्थिक सुधारका लागि नीतिमा समयसापेक्ष परिवर्तन गर्नुपर्ने आवश्यकता अवगत गराउन चाहन्छौं । हाम्रो विचारबारे आधारभूत सिद्धान्तले अझै काम गरिरहेका त छन् तर तिनीहरूलाई व्यापक, दीर्घकालीन र द्रूत बनाउन जरूरी छ ।” जापानले सामना गरिरहेका आर्थिक चुनौति वृद्धवृद्धाको जनसङ्ख्या बढ्दै जाँदा थप खुम्चिन लागेको उहाँले बताउनुभयो । जापानको अर्थतन्त्र र जनसङ्ख्या आगामी ४० बर्षमा एक चौथाईले घट्ने आइएमएफले बताएको छ । यो बर्ष जापानको आर्थिक वृद्धिदरमा १.१ प्रतिशतले घट्ने अनुमान आइएमएफको अनुमान रहेको छ । अर्को बर्ष यसमा थप गिरावट आउने र ०.९ प्रतिशत हुने बताइएको छ ।

जापानी बैंकहरूले मुद्रास्फिति दरलाई अर्को बर्ष दुई प्रतिशत पु¥याउन सङ्घर्ष गरिरहेका छन् । मुद्रास्फिति बिस्तारै उकालो लाग्ने अवस्थामा रहेको र यो अवस्था आगामी केही बर्ष जारी रहने लगार्डले बताउनुभयो । महिला अधिकारकर्मी तथा विश्वकै केही उच्च ओहदाका महिलामध्ये एक लगार्डले भन्नुभयो, समस्या समाधानका लागि थप सोचविचारका साथ अघि बढ्नुपर्ने बताउनुभयो । जापानको श्रमिक बजारमा लैङ्गिक विभेदलाई कम गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।
प्रधानमन्त्री आबेले तथाकथित ‘विमेनोमिक्स’ नीतिलाई प्रोत्साहन गर्दा धेरै महिलालाई श्रमिक बजारमा सहभागिता गराउनुभएको छ । यद्यपि २५ जनाको उच्च ओहोदा अर्थात् मन्त्रीपरिषद्मा एक जनालाई मात्र सम्मिलित गराएको भनी जापानमा उहाँको व्यापक आलोचना भएको छ ।
-रासस÷एएफपी

प्रतिक्रिया