जापान एयरलाइन्सको नाफा ३२ प्रतिशत घट्यो

शर्मिला गुरुङ

टोकियो, १५ साउन (रासस-एएफपी) – जापानको राष्ट्रिय ध्वजाबाहक जापान एयरलाइन्सको पहिलो त्रैमासिकको खूद नाफा करिब ३२ प्रतिशतले घटेको छ । इन्धनको मूल्य वृद्धि र अमेरिका–चीनबीचको व्यापार युद्धपछि कार्गो ढुवानीमा आएको मन्दीका कारण नाफा घटेको जापान एयरलाइन्सले जनाएको छ ।

अप्रिल–जुन महिनाको अवधिमा जापान एयरलाइन्सको नाफामा कमी आई १२ अर्ब येन (जापानी मुद्रा) भएको छ । अघिल्लो वर्ष करिब १८ अर्ब खूद नाफा थियो । तर बिक्रीमा भने ४ प्रतिशत सुधार आएर तीन खर्ब ५५ अर्ब येन भएको छ ।

अमेरिका र इरानबीचको बढ्दो तनाबले इन्धनको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ, एयरलाइन्सले जारी गरेको विवरणमा उल्लेख छ । विज्ञप्तिमा कम्पनीको नाफा निरन्तर खस्किएको र तत्काल सुधार हुने सम्भावना कमै रहेको जनाइएको छ ।

अन्तर्राष्ट्रिय कार्गो व्यवसायको आयमा पनि ३.३ प्रतिशतले कमी आएको छ । खासगरी अमेरिका–चीन बीचको व्यापार अवरोधले कार्गो व्यवसायमा अन्यौल बढेको हो ।

प्रतिक्रिया