जीवनमा समस्या आयो भने के गर्ने ? यस्ता छन् समाधानका उपाय….

मनिषा थापा

जीवन छ समस्या पनि छ । जीवन भएपछि दुःखसुख आउनु स्वाभाविक हो । किनभने सुख र दुःखबाटै जीवन सञ्चालित हुन्छ । जीवनका दुईटा खुट्टाहरु छन्, एउटा सुखको, अर्को दुःखको । त्यत्ति नै हो । सुख–दुःखबाट हामी सञ्चालित छौं । हामी हिँड्छौैं ।

तर, कहिलेकाहीं बडो अप्ठ्यारो स्थिति आउँछ । कतै बाटो देखिँदैन । यति धेरै समस्याहरु हुन्छन् । कसरी समाधान हुन्छ होला ? के गर्ने होला ? भित्र अन्यौल हुन्छ । अलिकति ज्योति पनि काहीँ देखिँदैन । प्रकाश देखिँदैन । मन छट्पटाउँछ । यो बेलामा कसैले उपदेश दियो भने पनि लाग्छ– प¥या भए थाहा हुन्थ्यो । जसलाई पर्छ, जसले भोग्छ, उसले जान्दछ । यो बेलामा उपदेश काम लाग्दैन ।

जीवनमा चारैतिर अँध्यारै अँध्यारो, काहीँ उज्यालो छैन जस्तो हुन्छ । यहाँबाट म पार पाउन सक्दिनँ । यस्तो अप्ठ्यारो स्थिति मानिसको जीवनमा कहिलेकाहीँ आउँछ । स्वाभाविक हो सबैलाई आउँछ । जतिखेर हामीलाई पर्छ, हामीलाई लाग्छ, यस्ता समस्याहरु मलाई मात्रै आयो । तर, हैन सबैको जीवनमा कुनै न कुनै बेलामा यो आक्कलझुक्कल हुने घटनाहरु घट्छन् । यस्तो स्थिति सबैलाई आउँछ । पार कसरी पाउने ? पार पाउनलाई एउटै बाटो छ जति पनि समस्या आएका छन्, समस्यालाई स्वीकार गर्ने । समस्यालाई अस्वीकार ग¥यौं भने हामी दुःखी हुन्छौं ।

चुनौतीहरुलाई अस्वीकार ग¥यौं भने हामी दुःखी हुन्छौं । चुनौतीलाई स्वीकार गर्नुपर्छ । म यो भोग्न तयार छु । आफूलाई तयारी अवस्थामा राख्नुपर्छ । किनभने यो जीवन एकप्रकारको युद्ध हो । सिपाही जतिखेर पनि युद्धको लागि तयार हुनुपर्छ । कतिखेर कस्तो समस्या आउँछ, के थाहा ? सबै समस्यासँग जुध्न आफूलाई तयारी अवस्थामा राख्नुपर्छ । चुनौतीलाई स्वीकार गर, आँट भेटिन्छ । विकल्पलाई खुला गर बाटो देखिन्छ । चुनौतीलाई स्वीकार नगरीकन आँट पाइन्न । आत्मविश्वास बढ्दैन । हिम्मत आउँदैन, जोश आउँदैन । यो सबै चुनौतीबाट प्राप्त हुन्छ । चुनौतीलाई अस्वीकार गर्ने मानिस, समस्याबाट भाग्ने मानिसलाई आँट आउँदैन । त्यो मानिस आत्मविश्वासमा उपलब्ध हुँदैन । उसको त आत्मविश्वास पनि क्षय हुन्छ । आफूप्रति भरोसै हुँदैन । म गर्न सक्छु भन्ने विश्वासै हुँदैन । तर, जसले चुनौतीलाई स्वीकार ग¥यो, त्यसले आँट भेट्छ । जोश, जाँगर भेट्छ, उत्साह भेट्छ ।

उमङ्ग भेट्छ र आफूप्रति पूर्ण विश्वासले भरिन्छ । मेरा समस्याहरु समाधानको लागि म आफैं सक्षम छु । म आफैं गर्न सक्छु र विकल्पलाई हरहसमेसा खुला राख्नुपर्छ । जति पनि सम्भावनाहरु छन्, सम्भावनाका ढोकाहरुलाई बन्द गर्नु हुँदैन । जति पनि आफ्नो अगाडि विकल्पहरु छन्, सबैलाई प्रयोग गर्ने, हौसला राख्नुपर्छ । यो चाहिँ विकल्प प्रयोग गर्दिन भन्नु हुँदैन । के थाहा, कुन बाटोबाट कुन तरिकाबाट समस्याको समाधान हुन्छ ।

हामी त जुन बाटो सधैं हिँडेका छौं, जुन विधालाई सधैं प्रयोग गरेका छौं, हिजो अस्ति यस्तो प्रकारको समस्या आउँदाखेरि मैले यो तरिका प्रयोग गरेँं, मलाई लाग्छ– अब जुन समस्या आउँदा पनि त्यही तरिका मात्र प्रयोग गरौँ, अरु तरिकाहरुलाई छोडिदिउँ, अरु तरिकाले समस्या समाधान हुँदैन भन्ने हामीलाई लाग्छ । किनभने मेरो समस्या यही तरिकाले समाधान भएको थियो नि त । अनि अरु व्यक्तिहरुले त्यस्तै समस्या लिएर आए भने हामी आफ्नो कथा बताउँछौं– हेर, मैले पनि यो तरिकाबाट समस्या समाधान गरेको थिएँ । तिमी पनि यही गर । अरु बाटो नजाऊ । अरु तरिकाले हुँदैन भनेर हामी विकल्पलाई बन्द गर्न खोज्छौं । तर त्यसरी विकल्प बन्द गर्नु हुँदैन । सबै विकल्प खुला राख्नुपर्छ । किनभने सबै तरिकाहरुले समस्याको समाधान गर्छन् । हामीले प्रयोग कसरी ग¥यौं, त्यसमा भरपर्छ । कहिले कुन समस्याको केले समाधान गर्छ, कहिले कुन समस्याको केले समाधान गर्छ, भन्न सकिन्न । त्यसैले विकल्पलाई हरहमेसा खुला राख्नुपर्छ । चुनौतीलाई स्वीकार गरे आँट भेटिन्छ । विकल्पलाई खुला गरे बाटो देखिन्छ । यहाँबाट समस्याबाट मुक्त हुने बाटो हामीले भेट्छौं ।

निराशा भनेको के हो ? निराशा भनेको बाटो बन्द हुनु हो । कुनै विकल्प नदेख्नु, आफूसँग रहेको आफूप्रतिको भरोसा मेटिनु, आत्मविश्वास गुम्नु, यहाँबाट निराशा, यहीँबाट तनाव, यहीँबाट डिप्रेशन, सबै प्रकारका मनका रोगहरु शुरु हुन्छ र यसले सीधासीधा शरीरमा प्रभाव पार्छ र शरीर पनि रोगी हुन्छ । हाम्रो शरीर र मन जीर्णजीर्ण हुन्छ र हामी कुनै पनि कार्य गर्न असमर्थ हुन्छौं र जीवन खेर जान्छ । यति अमूल्य जीवन खेर जान्छ जुन जीवनमा हामी मस्ती, आनन्द, सुखलाई आमन्त्रण गर्न सक्थ्यौं । भोग्न सक्थ्यौं । यो अवसरबाट वञ्चित हुनुपर्छ । जीवन भोग्न सक्दैनौं । जीवन साहसीहरुका लागि हो, हिम्मतिलाहरुका लागि हो । आँटिला, जोशिला व्यक्तिहरुको लागि जीवन हो । जीवन आत्मविश्वासीहरुका लागि हो । जसले आत्मविश्वास गुमायो उसले जीवन गुमायो ।

आत्मविश्वास सबैभन्दा महत्वपूर्ण कुरा हो । आत्मविश्वास गुमाउनु नै अपराध हो । पाप हो । यो भन्दा ठूलो पाप अर्को छैन । जुन–जुन कर्महरु गर्दा हाम्रो आत्मविश्वास गुम्छ, त्यस्ता कर्म गर्नुचाहिँ अपराध हो । जस्तो–जस्तो कर्महरु गर्दाखेरि मेरो आत्मविश्वास जाग्छ, म गर्न सक्छु, म सक्षम छु, सबल छु भन्ने भाव जस्ता कर्महरु गर्दा जाग्छ, त्यस्ता कर्महरु गर्नु नै धार्मिक कार्य हो । धर्म हो ।

आज साह्रा दुनियाँ अधर्मको बाटोमा हिँडेको छ । आजका युवा शुरुमै अधर्मतिर लागेका छन्, अधर्म भनेको आफ्नो आत्मविश्वास गुमाउनु हो । अहिलेका मानिसमा केहीको कमी छ भने त्यो हो आत्मविश्वास । आत्मविश्वास यति ठूलो सम्पत्ति हो जसका लागि सबै सम्पत्ति खर्च गरे हुन्छ । आत्मविश्वासका लागि सबै कुरा गुमाउन सकिन्छ । तर, आत्मविश्वास गुमाएर कुनै पनि चीज प्राप्त ग¥यौं भने त्यसको केही अर्थ छैन । आत्मविश्वास छ भने सबै कुरा छ, आत्मविश्वास यस्तो औषधि हो जसबाट निको नहुने कुनै रोग छैन । आत्मविश्वास यस्तो विधा हो जसबाट प्राप्त नहुने कुनै वस्तु नै छैन । जे इच्छा गर्छौं त्यो पूर्ति हुन्छ । आत्मविश्वासबाट प्राप्त नहुने यो संसारमा केही नै छैन । आत्मविश्वास हुनेका लागि कुनै कुरा असम्भव छैन ।

तर, आत्मविश्वास गुमाएका व्यक्तिका लागि केही कुरा सम्भव छैन, सबै कुरा असम्भव छ । सबैभन्दा ठूलो सम्पत्ति केही हो भने आफूप्रतिको भरोसा हो । आफूसँग विश्वास गर्नु हो । आफ्नो क्षमतासँग विश्वास हुनुभन्दा ठूलो सम्पत्ति दुनियाँमा केही छैन ।आफ्नो बुद्धि, आफ्नो विवेक, आफ्नो विचारहरु, आफ्नो भावको सम्मान गर्नुपर्छ । किनभने हाम्रा सबैभन्दा ठूला सहयोगी यिनीहरु मात्रै हुन् । मलाई दुनियाँमा कसैले बचाउन सक्दैन, मलाई अहिलेसम्म पालेको छ, खुवाएको छ, हिँडाएको छ, रमाइलो गराएको छ भने मभित्र रहेका विचार, मेरो आफ्नो विचार, मेरो आफ्नो मन, मेरो आफ्नो बुद्धिले आजसम्म यो अवस्थासम्म लिएर आएको छ । यतातिर फर्किनुपर्छ । यिनीहरुप्रति भरोसा गर्नुपर्छ । अरुसँग भरोसा गरेर के गर्नुहुन्छ ? जतिसुकै नजिकको मानिस होस्, जतिसुकै ठूलो सहयोगी होस्, त्यो सहयोगी सधैं तपाईंको साथमा रहँदैन । हाम्रो साथमा कोही सहयोगी रहँदैन । कुनै न कुनै दिन त्यो सहयोगीसँग हामी छुट्नुपर्छ । विछोड हुन्छ । सधैं सहयोग कसैले गर्न सक्दैन । कति दिन बस्छ सहयोगी ? कुनै न कुनै दिन त मृत्युले विछोड गराइदिन्छ । हटाइदिन्छ आफैंले ।

तर, तपाईंभित्रको विचारले, तपाईंको बुद्धि, तपाईंको मन, तपाईंको भाव, तपाईंभित्रको प्रेम गर्ने क्षमता, तपाईंभित्रको सहयोग गर्ने क्षमता तपाईं जबसम्म जिउँदो हुनुहुन्छ तबसम्म साथमै रहन्छ । यसले कहिल्यै छोड्दैन । सदा–सदा यिनीहरुकै भरमा मैले गरिखाएको छु । केही गरेको छु । केही देखेको छ मभित्रको बुद्धिमता, मभित्रको मन सबल भयो सबैले मलाई सम्मान गर्छन्, म जीवनमा प्रगति गर्न सक्छु । मेरो विचार मेरो बुद्धि मेरो विवेक, मेरो मन कमजोर भयो म कमजोर भएँ, अब सिद्धियो । साह्रा दुनियाँले मद्दत गरे पनि मेरो केही हुनेवाला छैन । जसले आफ्नो मद्दत गर्न सक्दैन, उसलाई दुनियाँको कुनै शक्तिले मद्दत गर्न सक्दैन । यहाँ ईश्वर पनि निरीह हुन्छ । जुन व्यक्तिलाई आफूप्रति भरोसा छैन, आफू केही गर्न सक्छु भन्ने लाग्दैन, त्यो व्यक्तिलाई ईश्वरले पनि मद्दत गर्न सक्दैन । आफूप्रति भरोसा हुनुपर्छ । आत्मस्वाभिमान हुनुपर्छ । स्वावलम्बी हुनुपर्छ ।

स्वावलम्बी बन्नको लागि आत्मसम्मानको लागि, आत्मबलको लागि आत्मशक्ति जागृत गर्नको लागि एउटै तरिका हो, चुनौतीलाई स्वीकार गर्ने । चुनौतीलाई स्वीकार गर आँट भेटिन्छ, विकल्पलाई खुला गर बाटो देखिन्छ । यही हो जीवनको परमसूत्र । यसले हाम्रो जीवनलाई सरल, सहज र सुखी बन्छ । हामी सबैलाई पनि आफूभित्रको आत्मविश्वासलाई जागृत गर्ने, आफूभित्रको आँट, जोश, जाँगर, उत्साह, उमङ्गलाई बढाउने अवसर मिलोस् । हामी सबैलाई पनि ध्यान गर्ने अवसर मिलोस् ।

प्रतिक्रिया