जेलभित्रै गोली प्रहार, साढे सात करोड पैसा गन्न चार घन्टा

admin

काठमाडौं, जेठ ११ : नक्कली भारु कारोबारकै आरोपमा दुईपटक जेल परिसकेका युनुस अन्सारी शुक्रबार सात करोड ६७ लाख ९४ हजारसहित फेरि पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई हजार दरका नक्कली भारुसहित ६ जनाको समूह पक्राउ परेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ । बरामद नक्कली भारु सुटकेसमा राखेर कतार हुँदै नेपाल भित्र्याइएको हो । भारत सरकारले पुराना नोट हटाएर पाँच सय र दुई हजार दरका नयाँ नोटको प्रयोग सुरु गरेपछि नेपालमा भारु तस्करी रोकिएको थियो । तीन वर्षपछि नेपालमा नक्कली भारु बरामद भएको हो ।

‘नक्कली नोट लिन गएका युनुस अन्सारीसहित तीनजनालाई विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरेका हौँ,’ महानगरीय प्रहरी आयुक्त डिआइजी शैलेश थापा क्षेत्रीले पत्रकार सम्मेलनमा भने, ‘पाकिस्तानी र युनुसबीच कुराकानी भएको प्राविधिक अनुसन्धानबाट समेत देखिन्छ ।’ पक्राउ पर्ने पाकिस्तानीमा मोहम्मद अख्तर, नदिना अनवार र नासिर उद्दिन छन् । उनीहरू दुई दिनअघि मात्र पाकिस्तानबाट कतार गएका थिए ।

त्यस्तै प्रहरीले युनुसका साला सुयल खान र चालक सुदन रानाभाटलाई समेत विमानस्थलबाटै पक्राउ गरेको छ । सुयल यसअघि पनि नक्कली भारु कारोबारमा युनुससँगै जेल परेका व्यक्ति हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरूमाथि अनुसन्धान अघि बढाएको छ ।

बरामद भारु गन्न मात्रै चार घन्टा
बरामद नक्कली भारु अहिलेसम्मकै ठूलो परिमाणको भएको प्रहरीले जनाएको छ । गन्न पनि प्रहरी र भन्सार कर्मचारीलाई करिब चार घन्टा लागेको थियो । बरामद नोटमा सक्कलीमा जस्तै वाटरमार्क र अन्य सेक्युरिटी फिचरहरू राखिएका छन् । सर्वसाधारणले नक्कली पहिल्याउन नसक्ने किसिमको रहेको प्रहरीले जनाएको छ ।

भारु तस्करीमा १० वर्षदेखि युनुसको संलग्नता, दुईपटक जेल
नक्कली भारु कारोबार अभियोगमै युनुस यसअघि दुईपटक जेल परिसकेका छन् । २४ भदौ ०६६ मा भारतको मध्यप्रदेशमा नक्कली भारुसहित पक्राउ परेका नेपाली नागरिक अतिक मोहम्मद र राजेश गुप्तासँग युनुसको सम्बन्ध देखिएको थियो । त्यतिवेलादेखि नै उनीमाथि प्रहरीले निगरानीमा राखेको थियो । त्यसको पाँच महिनापछि १८ पुस ०६६ मा पाँच सय दरका २५ लाख ४४ हजार नक्कली भारतीय रुपैयाँ र तीन किलो सात सय ग्राम खैरो हिरोइनसहित उनी पक्राउ परे । पाकिस्तानी नागरिक मोहम्मद इकबालले भित्र्याएको नक्कली भारु र लागुऔषध ठमेलको एक होटेलबाट युनुसका सहयोगी काशीराम अधिकारीले लिएका थिए । युनुसकै निर्देशनमा उनले सो नक्कली भारु र लागुऔषध लिएको खुलेपछि उनी पनि पक्राउ परेका थिए । तर, १८ भदौ ०७० उनी छुटे ।

दोस्रोपटक १० माघ ०७० मा ३५ लाख नक्कली भारुसहित उनी फेरि पक्राउ परे । जेलभित्रै छँदासमेत उनले कारोबार गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो । भारु तस्करी गर्ने अन्तर्राष्ट्रिय समूहको युनुस प्रमुख व्यक्ति नै भएको प्रहरी अधिकारी बताउँछन् । तर, दोस्रोपटक पनि उनी २ फागुन ०७४ मा जेलमुक्त भए । छुटेपछि पनि उनी प्रहरी निगरानीमै थिए । केही महिनाअघि उनी कतार गएकोसमेत अनुसन्धानमा खुलेको छ ।

जेलभित्रै गोली प्रहार
पहिलोपटक जेल पर्दा २६ फागुन ०६७ मा युनुसमाथि केन्द्रीय कारागारमा गोली प्रहार भएको थियो । भारतीय नागरिक जसजित भनिने मनमित सिंहले कट्टुभित्र पेस्तोल लुकाई चाल्र्स शोभराजलाई भेट्ने बहानामा केन्द्रीय कारागार छिरेका उनले गोली दागेका थिए । युनुसको टाउकोतिर सोझिएको गोली एक कैदीका कारण उनको कुममा लाग्न पुगेको थियो । ती कैदीले युनुसलाई तानेर जोगाएका थिए । एक भारतीय समूहले सुपारी दिएर अन्सारीको हत्यामा मनमितलाई खटाएको अनुसन्धानमा खुलेको थियो ।

युनुसको सम्बन्ध
युनुस भारतीय सुरक्षा निकायसँग निकट व्यक्ति भएको आरोप लाग्छ । तर, भारतीय सञ्चारमाध्यमले भने युनुसलाई पाकिस्तानी गुप्तचर निकाय आइएआईको एजेन्ट भएको दाबी गर्दै आएका छन् । कुख्यात अन्डरवर्ल्ड समूह ‘डी कम्पनी’का नाइके दाउद इब्राहिमसँग समेत उनको सम्बन्ध रहेको आरोप लाग्ने गरेको छ । विगतमा उनीमाथि अनुसन्धान गरेका प्रहरी अधिकारीका अनुसार अन्तर्राष्ट्रिय आपराधिक समूहसँग उनको सम्पर्क देखिएको छ ।

‘ओभर कन्फिडेन्स ?’
यस्ता गिरोहका नाइके प्रायः यस्तो कारोबारमा प्रत्यक्ष रूपमा आफैँ संलग्न हुँदैनन् । आफ्नो सहयोगी तथा पैसा दिएर अन्य व्यक्ति खटाउँछन् । तर, युनुस शुक्रबार नक्कली भारु लिन आफैँ विमानस्थल पुगे । जसले प्रहरीलाई चकित बनाएको छ । विगतमा उनी प्रत्यक्ष रूपमा आफैँ संलग्न हुने गरेका थिएनन् । अर्कातर्फ नक्कली भारु ल्याउनेले पनि विमानस्थलका अधिकारीलाई छक्याउने कुनै उपाय अपनाएको देखिँदैन । सामान्य प्लास्टिकमा बाँधेर नोट सुटकेसमा राखिएको थियो । एक्सरे चेकिङमा सजिलै पत्ता लाग्यो ।

‘युनुसमा एकदमै ओभरकन्फिडेन्स देखिन्छ,’ प्रहरीको विशेष ब्युरोका एक अधिकारी भन्छन्, ‘विगतमा यसरी खुलमखुला उनी कारोबारमा संलग्न थिएनन् ।’ पक्राउ परेपछि पनि उनको अनुहारमा कुनै तनाव थिएन्, बरु मुस्कुराइरहेका थिए । पत्रकार सम्मेलनमा अरू सबैको मुख छोपे पनि उनले मास्क लगाउन मानेनन् । मुस्कुराएरै पत्रकार सम्मेलनमा उपस्थित भएका थिए । ढाका टोपी र सुट पाइन्ट लगाएर उनी नक्कली भारु लिन विमानस्थल पुगेका थिए ।

‘उनको रगतमै अपराध छ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी भन्छन्, ‘आफूले गरेको कामप्रति कत्ति पनि पश्चाताप छैन ।’ पूर्वमन्त्री सलिम मियाँ अन्सारीका छोरा युनुसले केही समय नेसनल टेलिभिजनसमेत चलाएका थिए ।

तीन वर्षपछि फेरि सुरु भयो तस्करी
भारतमा नोटबन्दीपछि नेपालमा नक्कली भारु बरामद भएको यो पहिलो घटना हो । यसअघि भारत तथा बंगलादेशमा भने नयाँको पनि नक्कली नोट भेटिएका छन् । दुई महिनाअघि भारतको हैदराबादमा तीन लाख ९८ हजार नक्कली भारुसहित दुईजना पक्राउ परेका थिए । त्यस्तै, गत वर्ष बंगलादेशको मिरपुरबाट ५२ लाख नक्कली भारुसहित तीनजनालाई पक्राउ गरेको थियो । गत कात्तिकमा आठ लाख ४८ हजार नक्कली भारुसहित केही व्यक्ति दिल्लीमा पक्राउ परेका थिए ।

भारतमा नेपाल र बंगलादेशको बाटो भएर नक्कली नोटको तस्करी हुने गरेको छ । नक्कली नोट भारतीय अर्थतन्त्रका लागि ठूलो चुनौती बन्दै गएको छ । यस्ता नक्कली नोट अत्याधुनिक प्रेसमा छाप्ने गरेका छन् । जसमा अन्तर्राष्ट्रिय गिरोह नै सक्रिय छ । तीन वर्षअघि भारतका बैजनाथ गुप्ता र पाकिस्तानका अब्दुल वहाकको समूहलाई पक्राउ गरेयता नेपालमा नक्कली नोट भेटिएको थिएन । सो समूहले नेपालमै नक्कली नोट भित्र्याएको थियो ।

भारतले कालोधन र नक्कली नोटको कारोबार रोक्नकै लागि ८ नोभेम्बर ०१६ मा पाँच सय र हजार दरका पुराना नोट हटाएको थियो । तत्काल नक्कली नोटको कारोबार कम भए पनि एक वर्षयता फेरि बढेको छ । नक्कली भारु तस्करीले नेपाल प्रहरीको समेत टाउको दुखाएको छ । नेपालमा हुने कतिपय गोलीकाण्ड नक्कली नोटको कारोबारसँग जोडिने गरेका छन् । खुला सिमानाकै कारण अन्तर्राष्ट्रिय समूहले नक्कली भारु तस्करीमा नेपाललाई ट्रान्जिटका रूपमा प्रयोग गरेको हो ।

प्रतिक्रिया