झापामा ‘चिकेन स्टेशन’

शर्मिला गुरुङ

बनियानी, २ चैत : कुखुराको मासुको पारखीका लागि झापाको बिर्तामोडमा ‘चिकेन स्टेशन’ सञ्चालनमा आएको छ । पाँच युवा मदन राई, नगेन बुढाथोकी, नितेश मिश्र, प्रकाश भारती र बिन्दु गुरुङले रु ४० लाखको लागतमा ‘चिकेन स्टेशन’ सञ्चालन ल्याउनुभएको हो ।

कुखुराको मासुका पारखीका लागि पूर्वमै पहिलोपटक ‘फ्रेञ्चाइज आइटम’ पस्केको सञ्चालकमध्येका मदनले जानकारी दिनुभयो । मुख्यतः काठमाडौँबाट सञ्चालित ‘चिकेन स्टेशन’ पूर्वमा विस्तार गर्ने लक्ष्यका साथ आफूहरुले बिर्तामोडमा शाखा विस्तार गरेको उहाँले बताउनुभयो ।

“वैशाखभित्रमा दमक र बेलबारीमा पनि सञ्चालन आउने छ”, उहाँले भन्नुभयो, “तीनवटै स्थानमा स्टेशन सञ्चालन गर्न रु एक करोड २० लाख खर्च लाग्ने छ ।” केएफसी खानकै लागि झापाबाट धेरै मानिस भारतको सिलिगुढी जाने गरेका उल्लेख गर्दै उहाँले चिकेन स्टेशन खुलेसँगै अब सिलिगुढी धाउनु नपर्ने बताउनुभयो ।

चिकेन स्टेशनमा ३० वटाभन्दा बढी प्रकारका कुखुराको परिकार पाइने अर्का सञ्चालक नगेनले बताउनुभयो । स्टेशन परिसरमा धुम्रपान तथा मध्यपान प्रतिबन्ध गरिएको छ । हाल यहाँ नौ जनाले रोजगारीसमेत पाएका छन् भने तीन वटै स्थानमा सञ्चालनमा आएपछि करीब ४० ले रोजगारी पाउने सञ्चालक बिन्दुले बताउनुभयो रासस

प्रतिक्रिया