झापा गोल्डकपको उपाधि आर्मीलाई

admin

भद्रपुर, २७ फागुन: झापा गोल्डकपमा त्रिभुवन आर्मी क्लबले विजयी भएसँगै नगद रु १२ लाख ५५ हजारसहित ट्रफी हात पारेको छ । चौथो झापा गोल्डकपको आज सम्पन्न फाइनल खेलमा आयोजक झापा ११ लाई ५—३ गोलअन्तरले पराजित गर्दै आर्मीले उपाधि चुमेको हो । यही फागुन १८ गतेदेखि झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा सम्पन्न खेलमा उपविजेता बनेको झापाले नगद रु छ लाख पाँच हजारमा चित्त बुझाउनुप¥यो । आर्मीले जीतका लागि पहिलो हाफमा दुई र दोस्रो हाफमा तीन गोल ग¥यो । झापाले भने पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको थियो ।

पहिलो हाफको २४ मिनेटमा आर्मीका सन्तोष तामाङ ‘फ्री किक’ मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनले व्यक्तिगत दुई गोल गरे । आर्मीको जीतका लागि क्याप्टेन भरत खवास, टेकबहादुर बुढाथोकी र नवयुग श्रेष्ठले गोल गरेका हुन् । झापाका लागि योगेश गुरुङ, विदेशी खेलाडी फान्सिस र भिक्टोरले गोल गरे । झापा गोल्डकपको फाइनलमा झापा र आर्मीको यो तेस्रो भेट भएको आयोजक समितिका संयोजक महेन्द्र गिरीले बताउनुभयो । आर्मीले झापालाई नै पराजित गर्दै पहिलो र तेस्रो सिजनको उपाधि हात पारेको थियो । झापा ११ भने चौथो पटक फाइनलमा पुगे पनि हालसम्म उपाधि रक्षा गर्न सकेन ।

झापा तीन विदेशी खेलाडीसहित आफ्ना नियमित ‘स्ट्राइकर’ कर्ण लिम्बू, डिफेण्डर देवेन्द्र तामाङ, दिलेन लोक्तामसहित मैदान उत्रेको थियो । आर्मी पनि आफ्ना नियमित फरवार्ड नवयुग श्रेष्ठ, भरत खवास र गोल रक्षक विकेश कुथुसहितका केही राष्ट्रिय खेलाडीसहित झापासँग भिडेको थियो । प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल प्लेयर’का रुपमा झापाका दिलेन लोक्ताम घोषित हुँदै एक थान मोटरसाइकल प्राप्त गरेका छन् । ‘बेस्ट डिफेन्स’ झापाकै देवेन्द्र तामाङले २१ हजार, ‘राइजिड प्लेयर’ निशान्त खड्काले १५ हजार, ‘बेस्ट कोच’ आर्मीका चुनबहादुर थापाले २१ हजार, ‘बेस्ट किपर’ विकेश कुथुले २१ हजार र ‘म्यान अफ दी म्याच’ आर्मीका सन्तोष तामाङले नगद १५ हजार पाए । त्यस्तै सर्वाधिक गोलकर्ता आर्मीका नवयुग श्रेष्ठले तीन गोल गर्दै नगद २१ हजार पाउन सफल भए । ‘बेस्ट मिडफल्डर’ झापाका पुजन उपरकोटी घोषित हुँदै नगद २१ हजार पाउन सफल भएका छन् ।
-रासस

प्रतिक्रिया