टर्कीको केन्द्रीय बैंकका गभर्नर राष्ट्रपतिको आदेशमा बर्खास्त

राष्ट्रिय समाचार समिति

अङ्कारा, २१ असार : टर्कीले यहाँको केन्द्रीय बैंकका गभर्नरलाई वर्खास्त गरेको राष्ट्रपतिको कार्यालयले शनिबार जानकारी गराएको छ । सन् २०१६ मा गभर्नरको जिम्मेवारी पाएका मुरत सेतिन्कायलाई शनिबार प्रकाशित राजपत्रमा राष्ट्रपतीय घोषणा सार्वजनिक भएको हो । सेतिन्कायको स्थान यसअघि डेपुटी गभर्नरका रूपमा कार्यभार सम्हाल्दै आएका मुरत यूसाले गर्नेगरी तोकिएको छ ।

सेतिन्कायलाई किन हटाइएको भन्नेबारे पत्रमा कुनै कारण उल्लेख गरिएको छैन ।व्याजदर कटौतिका लागि सरकारले गरेको प्रस्तावमा सेतिन्कायले नमानेपछि सरकार र बैंकबीचको विवाद बाहिरिएपछि उहाँलाई हटाउने हल्लाहरू भने नागरिक स्तरमा नै चर्चा भएका थिए । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बैंकलाई उच्च ब्याजदर घटाउन पटक पटक निर्देशन दिएपनि सेन्तिकायले प्राविधिक समस्या देखाउँदै परिवर्तन गर्न आनाकानी गर्दै आउनुभएको थियो । राष्ट्रपतिले उच्च ब्याजदरलाई ‘सबै दुर्जनहरूको अविभावक’ को सज्ञा दिँदै आउनुभएको थियो ।

गत अगस्टमा टर्कीको मुद्रामा देखिएको सङ्कटसँगै आधार विन्दुबाट ६२५ अङ्क वृद्धि गर्दै ब्याजदरलाई २४ प्रतिशत पु¥याउनुभएको थियो । सेतिन्कायले ब्याजदर वृद्धिलाई निर्विकल्प उपाय बताउँदै आउनुभएको थियो । नवघोषित गभर्नरले आफूले मौद्रिक नीतिमा आधारित भएर ‘स्वतन्त्र’ रूपमा काम गर्ने, मूल्यको स्थिरता प्रत्याभूत गर्नु आफ्नो प्रमुख लक्ष्य रहने बताउनुभएको केन्द्रीय बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नयाँ कार्यक्रमबारे उहाँले आगामी दिनमा छिट्टै पत्रकार सम्मेलन गरी जानकारी दिने पनि बैंकद्वारा जारी विज्ञप्तिमा बताइएको छ ।टर्कीको मुद्रास्फीति दर मे महिनामा १८.७१ रहेकोमा जुनमा १५.७२ कायम भएको बुधबार सार्वजनिक सरकारी तथ्याङ्कहरूमा उल्लेख छ । उक्त दर यस बर्षको शुरूदेखि अहिलेसम्मकै सवैभन्दा निम्न दर हो । रासस

प्रतिक्रिया