टेनिस डबल्सको उपाधि जापानी टोलीलाई

admin

पोखरा, ४ फागुन: अन्तर्राष्ट्रिय टेनिस महासङ्घको आयोजना तथा कास्की जिल्ला टेनिस सङ्घको संयोजनमा पोखरामा जारी १८ वर्षमुनिको आइटिएफ टेनिस प्रतियोगितामा पुरुष डबल्सतर्फको उपाधि जापानका गेनी इनोक र केइजु मियाकेको जोडीले हात पारेको छ । पोखरा रङ्गशालामा शुक्रबार भएको फाइनल खेलमा हङकङकका केल लोक इन ताङ र इन्डोनेशियाका जेराल यासिनको जोडीलाई ६–३, ७–६ को सेटमा पराजित गर्दै जापानिज जोडीले सो उपाधि रक्षा गरेको हो । महिला डबल्सतर्फ चाइनाका ले यु लियु र इटोङ्ग झाङको जोडी प्रथम भएको छन् । चाइनाकै जुछुआन लुओ र जियु झाङको जोडीले वाकओभर दिएपछि लियु र झाङ जोडीले प्रथम भएका हुन् ।

गण्डकी प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रतियोगिताले पोखराको प्रचारप्रसारमा सहयोग पुगेको उल्लेख गर्दै टेनिस खेलका लागि आवश्यक भौतिक संरचना तयार गर्नका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । पुरुष एकलतर्पm जापानका गेनी इनोक र भारतका उदयवीर सिंह फाइनलमा प्रवेश गरेका छन् । गेनीले भारतका इशान सेठ्ठीलाई ६–४, ७–६ ले तथा सिंहले भारतकै सार्थक सुदेनलाई ६–०, ६–३ को सेटमा पराजित गर्दै अन्तिम दुईमा स्थान बनाएका हुन् ।

महिला एकलतर्फ चाइनाका ले यु लियु र भारतका रेन्नी सिंग्ला फाइनलमा पुगेका छन् । लियुले बुल्गेरियाका भिक्टोरिया भेलेभालाई ६–०, ७–५ ले तथा सिंग्लाले भारतका रिया बोभेजालाई ६–०, ६–३ को सेटमा पराजित गर्दै फाइनलमा पुगेका हुन् । एकलतर्पmको फाइनल खेल आज हुने टेनिस सङ्घ कास्कीका महासचिव नवीन चालिसेले जानकारी दिनुभयो ।
-रासस

प्रतिक्रिया