ट्रकले हानेर समेत् बाँच्न सफल भएका सुवासको आत्मबलको कथा (भिडियो)

मनिषा थापा

पिएनपिखबर : सुवास बाबु शर्मा खट्टेल एक साहित्यकार, राजनीतिज्ञ तथा समाजसेवी हुन्। उनी विगत २ महिना देखि अस्पतालमा उपचार गराई रहेका छन्। गत पुष १८ गतेको दिन उनको सडक दुर्घटना भएको थियो। 

अफिसको कामको सिलसिलामा उनी काठमाडौँबाट सिन्दुली जाँदै थिए। उनी सवार हाइसलाई मुल्कोटस्थित ट्रकले ठक्कर दिँदा दुर्घटना हुन् पुगेको हो। उनी धेरै दिनसम्म अचेत अवस्थामा नै पुगे। उनी घटनाक्रम सम्झिदै भन्छन, ‘हामी हाइसमा १५ जना थियौ। दुर्घटना हुँदा तरङ्ग आएको जस्तो अनुभव भयो। त्यसपछि म बेहोस भए। होश आउँदा मलाई शरीर नचलेको जस्तो अनुभब भयो र तत्काल मैले आफैले हेलिकप्टर बोलाइदिनुस भने।’

हेलिकप्टरबाट उनलाई मेडीसिटी अस्पतालमा लगियो जहाँ ८ दिन आइसीयु मै राखियो। उनलाई मेरुदण्डमा गम्भीर चोट लागेको थियो। २९ दिनको बसाई पछि उनलाई थेरापीको लागि काभ्रेमा अवस्थित स्पाइनल इंजरी पुनस्थापना केन्द्र अस्पतालमा सारियो। अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ। उनको खुट्टा पनि विस्तारै चल्न थालेको छ।

उनको उपचारमा १४ लाख जति खर्च भईसकेको छ। उनको व्यक्तिगत खर्चको साथसाथै साथीभाई तथा ट्रक व्यवसायीले पनि थप सहयोग गरेका छन्। अस्पतालमा बस्दा बस्दै उनले गीत पनि लेखेका छन् जुन रेकर्डिंगको तयारीमा छ। अन्तर्वार्तामा कुरा गर्दै उनले भने, ‘आत्मबल कै कारण मेरो स्वास्थ्यमा सुधार आएको जस्तो लाग्छ। डाक्टरले कम्मरमुनि भाग चल्दैन भनेका थिए शुरुको दिनमा तर मैले हरेश खाइन आज म ठिक हुँदै गईरहेको छु। त्यसैले मानिसमा आत्मबल विरामीमा हुनु अतिनै आवश्यक छ र म सम्पूर्ण महानुभावहरुलाई आत्मविश्वास राख्न सुझाब दिन चाहान्छु।’

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू