ट्राफिक व्यवस्थापन गर्न तीनमहिने अभियान

admin

काठमाडौँ, १२ चैत : उपत्यकाको ट्राफिक व्यवस्थापन सुधार गर्न तीनमहिले अभियान सञ्चालन गरिने भएको छ । आज काठमाडौँमा उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारको लागि तयार पारिएको तीनमहिने कार्य योजनाका सम्बन्धमा सरकारी तथा गैरसरकारी निकायहरुलाई जानकारी गराइएको छ ।

तीनमहिने कार्ययोजनाअन्तर्गत चक्रपथ भित्रका कोरिडोर सञ्चालनमा ल्याउने, सडक तथा फुटपाथ अतिक्रमण हटाउने, जेब्राक्रसिङ, लेनसेन्टर मार्किङ गर्ने, ट्राफिक सचेतनासम्बन्धी प्रशिक्षणमा व्यापकता दिने, बस पकेट नियमन गरी सञ्चालनमा ल्याउने र पार्किङ व्यवस्थापन गर्ने उल्लेख छ ।

आजको छलफल कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित एवं सुढृढ गर्न सबै सरोकारवालासँग समन्वय बढाउनुपर्नेमा जोड दिनुभयो । उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारको लागि तयार पारिएको तीनमहिने कार्य योजना दीर्घकालीन रुपमा लागू हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले यस कार्य योजनालाई पूर्वाधारको रुपमा खडा गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उक्त कार्ययोजनाबारे जानकारी दिँदै तीनमहिने अल्पकालीन कार्य योजनाले ट्रापिक व्यवस्थापनमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।
-रासस

प्रतिक्रिया