ठुलो बुबा र ठुली आमाले दिएको चाउमिन खाँदा दुइ दाजुभाइको मृत्यु

रिता घिसिंग

पुस १, कैलाली : कञ्चनपुरको कृष्णपुर नगरपालिका-३ आमघाटमा चाउमिन खाँदा एकै परिवारका दुई बालकको मृत्यु भएको छ । १२ वर्षीय धनबहादुर र ८ वर्षीय टेक सुनारको मृत्यु भएको हो । उनीहरु सहोदर दाजुभाइ हुन् ।

शनिबार बेलौरीमा रहेको (मामाघर) विवाहमा सहभागी हुन आमा विमलादेवीसँगै जाने क्रममा उनीहरुले ठूली आमा सीतादेवीले दिएको चाउमिन खाएका थिए ।

चाउमिन खाएपछि दुइ जनाले नै बान्ता गर्न थालेपछि बेलौरीको प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो । उपचार सम्भव नभएपछि सेती अञ्चल अस्पताल धनगढी लगिएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि बाँकेको कोहलपुर मेडिकल कलेज लैजाने क्रममा उनीहरुको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

ती दुवै बालकका बुबाको यसअघि नै मृत्यु भइसकेको छ । उनीहरु अहिले आमासहित ठूलो बुबा र ठुली आमाको आश्रयमा थिए । चाउमिन खाएर मृत्यु भएपछि स्थानीयवासीले ठुलोबुवा र ठुली आमाले चाउमिनमा विषादी मिसाएर उनीहरुको हत्या गरेको आरोप लगाएका छन् ।

इलाका प्रहरी कार्यालय झलारीले ठूलोबुबा लक्षी सुनार र ठूलीआमा सीता सुनारलाई पक्राउ गरेको छ । चाउमिनमा विषादी हालेर वा अन्य कारणले मृत्यु भएको भन्नेबारे अनुसन्धानपछि मात्रै खुल्ने प्रहरी निरीक्षक अवस्थीले जानकारी दिए ।

प्रतिक्रिया