डा केसीको माग कुण्ठित गरिएको छैन : भट्टराई

admin

बनियानी, ३ माघ: नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले प्रस्तावित चिकित्सा विधेयकमा डा गोविन्द केसीको मागलाई कुण्ठित नगरिएको बताउनुभएको छ । प्रेस चौतरी र प्रेस सेन्टर झापाले आज बिर्तामोडमा संयुक्त रुपमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, “चिकित्सा विधेयकमा डा केसीको ९९ प्रतिशत माग सम्बोधन गरिएको छ ।”

“चिकित्सा विधेयकमा डा केसीको माग र भावनाको सम्मान गरिएको छ” उहाँले भन्नुभयो, “म उहाँलाई हठ त्यागेर अनशन तोड्न आग्रह गर्छु ।” प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिका सदस्यसमेत रहनुभएका नेता भट्टराईले डा केसीसँग सरकारले छलफल र वार्ता गरेर ‘विन विन’को वातावरण सिर्जना गर्नुपर्छ । चिकित्सा शिक्षा विश्वविद्यालय स्थापना गर्ने कुरा डा केसीकै माग भएको बताउँदै उहाँले चिकित्सा शिक्षा अध्ययनका लागि वार्षिक अर्बौ रुपैयाँ विदेशिएकाले त्यसलाई रोक्न जरुरी रहेको र विधेयक पास भएपछि त्यस्तो अवस्था अन्त्य हुने धारणा व्यक्त गर्नुभयो ।

“अहिले मापदण्ड नपुगेका मेडिकल कलेज पहुँचको भरमा चलिरहेका छन्, त्यस्तो कलेजको सम्बन्धन खारेज हुन्छ”, उहाँले भन्नुभयो, “चिकित्सा विधेयक पास भएपछि कुनै दलको नेता भएकै भरमा मेडिकल कलेज चल्दैन ।” मेडिकल कलेज सञ्चालनका लागि मापदण्ड पुगेको ३०० श्ययाको अस्पताल तीन वर्ष चलेको हुनुपर्ने प्रावधान चिकित्सा विधेयकमा उल्लेख गरिएको समेत उहाँले जानकारी दिनुभयो ।

नेता भट्टराईले विदेशका मेडिकल कलेजमा कमिसन लिएर विद्यार्थी बेच्ने काम भइरहेको बताउँदै त्यस्ता गिरोहले डा केसीलाई उचालेका छन् भन्नुभयो ।विसं २०४८ मा काङ्ग्रेस नेतृत्वको सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा ल्याएको विकृति वर्तमान सरकारले अन्त्य गर्ने उल्लेख गर्दै उहाँले स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी बढाउँदै व्यवस्थित गर्दै जाने योजनामा सरकार रहेको बताउनुभयो । नेकपा पार्टी एकताको प्रसङ्गमा नेता भट्टरार्ईले एकताको प्रक्रियाका माघ १० देखि १५ गतेसम्ममा टुङ्गिने बताउनुभयो । ‘एकता अन्तिम चरणमा पुगेको छ’, उहाँले भन्नुभयो, “पार्टी एकतापछि फागुन–चैतभित्रमा देशव्यापी अभियान सञ्चालन गरिन्छ ।”
-रासस

प्रतिक्रिया