डिएसपीको परिचय दुरुपयोग : फरक -फरक युवती संग शारीरिक सम्बन्ध

admin

काठमाडौं, २९ पुष : भक्तपुर बालकोटका ३५ वर्षीय अनिल थापाले नेपाल प्रहरीको बहालवाला डिएसपी भीमकिरण बोगटीको परिचय दुरुपयोग गरेको पाइएको छ । युवतीसँग शारीरिक सम्पर्क राख्ने उद्देश्यका लागि थापाले त्यस्तो हर्कत गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले बिहीबार पुतलीसडकस्थित तिरुपति होटेलबाट पक्राउ गरेपछि अनुसन्धानका क्रममा उनको कर्तुत बाहिरिएको हो । यो समाचार आजको नयाँ पत्रिकाबाट लिएको हो ।

थापालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले तिरुपति होटेलको कोठा नम्बर २०३ बाट पक्राउ गरेको थियो । १४ दिनदेखि उनी डिएसपी बोगटीको परिचयमा होटेलमा बस्दै आएका थिए । प्रहरीका अनुसार उनको कोठामा प्रत्येक दिन फरक–फरक युवती आउने जाने गर्थे । अनुसन्धानका लागि उनीहरूलाई बोलाएको भनेपछि होटेलवालाले यस विषयमा चासो दिएको थिएन । आउने–जानेमध्येकै एक युवती डिएसपीबाट शोषणमा परेको उजुरी लिएर प्रहरी कार्यालय पुगेपछि मात्रै यो विषय सार्वजनिक भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले डिएसपी पदको आडमा अनुचित फाइदा उठाउने उद्देश्यले उनी तिरुपतिमा बसेको पाइएको बताए । ‘उसले डिएसपी पदको आडमा अनुचित फाइदा लिएको पाइयो । युवतीमाथिको यौनशोषण त्यसमध्येको एक हो । यसका लागि उनी बहालवाला डिएसपीकै नाममा परिचित बने । अनि अनुचित फाइदा लिन जुटे,’ बोगटीले भने । प्रहरीका अनुसार थापाले डिएसपी बोगटीकै नाममा भिजिटिङ कार्डसमेत बनाएर विभिन्न व्यक्तिलाई बाँडेका छन् । तर, यस विषयमा बहालवाला डिएसपी भीमकिरण भने बिलकुलै बेखबर छन् ।

श्रीमतीसँग झगडा परेपछि होटेलमा वास
प्रहरीका अनुसार थापा विवाहित हुन् । उनको १३ वर्षीय एक छोरा छ । श्रीमतीसँग सम्बन्ध बिग्रिएकै कारण उनी १४ दिनदेखि होटेल तिरुपतिमा बहालवाला डिएसपी बोगटीको आवरणमा बसेका थिए । यसबीचमा होटेलवालालाई धम्काउँदै उनले ६५ हजार रुपैयाँको उधारो सुविधा लिएका थिए । प्रहरीजस्तै देखिन उनले पोसाक मात्र नभई कपालसमेत दुरुस्त बनाएका थिए ।

होटेलवालालाई भने आफू गम्भीर प्रकृतिको अपराध अनुसन्धान गर्न महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट आएको र अझै केही दिन सोही कोठामा रहने बताएका थिए । ‘उसले आफूलाई अपराध अनुसन्धान महाशाखाबाट आएको हुँ भन्दोरहेछ । १४ दिनमा रक्सी र खाना मात्रै ६५ हजार रुपैयाँको खाएको देखियो, तर भुक्तानी भने गरेको पाइएन । ठमेल र दरबारमार्गलगायतका क्षेत्रमा पनि यसले यस्तै हर्कत गरेको खुलेको छ,’ डिएसपी बोगटीले भने ।

प्रतिक्रिया