डेङ्गुका कारण ३५ को मृत्यु, २३ हजार प्रभावित

राष्ट्रिय समाचार समिति

कोलम्बो, १६ असार: श्रीलङ्कमा डेङ्गुका कारण पछिल्लो छ महिनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । सरूवा रोग नियन्त्रण इकाईले सोमबार दिएको जानकारी अनुसार यस अवधिमा अरु २३ हजार जना डेङ्गुबाट प्रभावित भएका छन् । जुलाईको अन्त्यसम्ममा कुल प्रभावितको संख्या २३ हजार ८४२ रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

सवैभन्दा धेरै कोलम्बो जिल्लाका प्रभावित भएको पाइएको छ । प्राप्त विवरण अनुसार कोलम्बोमा पाँच हजार ५९ जना प्रभावित भएका छन् भने दोस्रो धेरै विरामी गाम्पाहामा भएका छन् । गाम्पाहामा तीन हजार ५२ र तेस्रो धेरै प्रभावित भएको गाल्लेमा दुई हजार ३१ जना विरामी भएका छन् ।

बर्षा जारी रहेकाले अहिले कोलम्बो, गाम्पाहा, गाल्ले, कालुतारा र रत्नपुरा गरी पाँच जिल्लालाई डेङ्गुको उच्च जोखिम जिल्लाको रूपमा घोषणा गरिएको छ । उच्च ज्वरो, अनियन्त्रित वान्ता, पेट दुखाई, चक्कर लाग्ने, पिसाबसम्वन्धी समस्यालगायतका लक्षणहरू देखिनासाथ चिकित्सकहरुसँग परामर्श गर्न चिकित्सकहरुले आग्रह गरेका छन् ।

“ज्वरो आएका सवै विरामीहरुलाई आरामको आवश्यकता पर्दछ, उनीहरुले केही दिन आफ्नो कामबाट विदा लिनु पर्दछ,” एक विषेशज्ञले भने । श्रीलङ्कामा गत बर्ष मात्रै ५० भन्दा बढीको डेङ्गुका कारण मृत्यु भएको थियो भने ४८ हजार भन्दा बढी प्रभावित भएका थिए ।

प्रतिक्रिया